ढुंखर्क/बेथान्चोक गाउँपालिकामा नागरिकता वितरण घुम्ती शिविर सम्पन्न भएको छ । आईतबार र सोमबार आयोजना गरिएको शिविरमा स्थानीयहरुले नागरिकता सहित मतदाता परिचयपत्रका लागि फोटो खिचाएका थिए ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा बेथान्थोक गाउँपालिकामा उक्त शिविर आयोजना गरिएको हो । शिविरमा गाउँपालिकाका सबै वडाका नागरिकहरुले सेवा प्राप्त गरेका थिए । सदरमुकामसम्म आउने झण्झटलाई शिविरले अन्त्य गरेको स्थानीयले बताए । शिविरको शुभारम्भ प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गरेका थिए । सेवाग्रहीलाई घर दैलोमै सेवा दिने उदेश्यले उक्त शिविर आयोजना गरिएको थियो । सेवाग्रहिहरुको समय र खर्च समेत बचत हुने भएकाले स्थानीय स्तरमै शिविर आयोजना गरिएको प्रजिअ रानाले बताए । कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले जिल्ला प्रशासन कार्यालयको सेवाले स्थानीयहरु खुशी भएको बताए । सहायक प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरी, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोेतीराम तिमल्सिना, वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।





