2026 April 21/ 04:55: 24pm

    नमोबुद्ध/नेपाली सेना विष्णु दल गणद्वारा विद्यालयको भौतिक निर्माण तथा खेलकूद सामाग्री वितरण गरेको छ । 
    सैनिक नागरिक सम्बन्ध प्रगाढ बनाउन नेपाली सेनाको ओआईपी बजेट तथा विष्णु दल गण धुलिखेल गणका सैनिकहरुको श्रमबाट नमोबुद्ध नगरपालिका वडा नम्वर २ बुच्चाकोटमा रहेको जनकल्याण माविको खेल मैदानका लागि पर्खाल निर्माण गरिएको छ । साथै भलिबल कोर्ट, टेबल टेनिस बोर्ड, अन्य खेल पूर्वाधारहरु, सरस्वती मन्दिर निर्माण तथा विद्यालयको पुस्तकालका लागि आवश्यक पर्ने पुस्तकहरु नेपाली सेनाले विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । 
    उपत्यका पृतना हेड क्वाटरका पृतनापती उपरथी निरन्जन कुमार श्रेष्ठले एक कार्यक्रमका बीच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना, २६ नम्वर बाहिनी अड्डाका निमित्त बाहिनिपति महासेनानी दिनेशकुमार केसी, विष्णु दल गणका गणपति प्रमुख सेनानी सुबास खड्का लगायत स्थानीय विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । 
    कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले नेपाली सेनाले सार्वजनिक महत्वका जीवनपयोगी कार्यमा नागरिकसँगको सहकार्यमा विभिन्न कार्यहरु गर्दै आएको बताए । नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्माले विद्यालयलाई सहयोग गरेको र नागरिकसँग नेपाली सेना जोडिएकोमा धन्यवाद ब्यक्त गरे । विष्णु दल गण धुलिखेलका गणपति सुवास खड्काले विद्यालय परिसरलाई बालमैत्री वातावरणमुक्त बनाउन पाएकोमा खुशी ब्यक्त गर्दै भविश्यमा पनि सैनिक नागरिक सम्वन्ध विस्तार गर्न यस्ता कार्यक्रम संचालन गर्ने बताए । सोहि अवसरमा विद्यालय हाता भित्र वृक्षारोपण गरिएको थियो ।