2026 April 21/ 04:54: 51pm

    पनौती/सामुदायिक विद्यालयमा स्मार्ट कक्षा शुरु गरिएको छ । जिल्लाको नमूना माध्यमिक विद्यालयका रुपमा चिनिएको पनौतीको भालेश्वर माविमा शुक्रबारबाट नर्सरी कक्षा देखि १२ सम्म प्रविधी मैत्री कक्षा शुरु भएको हो । 
    ‘सामुदायिक विद्यालयले चाहेको अवस्थामा सबै प्रकारका सेवा विद्यार्थीहरुलाई उपलब्ध गराउन सक्छन्’–प्रधानाध्यापक रामचन्द्र थापाले भने–‘विद्यार्थीहरुको सिकाईलाई थप प्रभावकारी बनाउन सबै कक्षालाई प्रविधिमैत्री बनाउँदै शिक्षकहरुलाई समेत प्रविधिबाट लिईने कक्षाको तालिम दिईएको छ ।’ शिक्षा तालिम केन्द्र धुलिखेलले विद्यालयका सबै शिक्षकहरुलाई ५ दिने आईटी सम्वन्धी तालिम दिन शुरु गरेका छन् । ‘जिल्लामा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन शुरु गराई नमुना विद्यालयका रुपमा चिनिएको पहिलो विद्यालय हो भालेश्वर’–अध्यक्ष राजेन्द्र केसीले भने–‘अभिभावकको माया, शिक्षकहरुको मेहनत र स्थानीय सरोकारवालाहरुको सहयोगले विद्यालयले निरन्तर गुणस्तरमा फड्को मारिरहेको छ ।’ हरेक वर्षको एसईई परीक्षामा जिल्लामै उत्कृष्ट विद्यार्थीका रुपमा भालेश्वरले परिचय बनाउँदै गएको छ । 
    कक्षा नर्सरी देखि नै इन्टरनेट, प्रोजेक्टर, स्मार्ट टिभी मार्फत विद्यार्थीहरुलाई पढाउन शुरु गरिएको छ । पनौती नगरपालिकाले विद्यालयलाई प्रविधी मैत्री बनाउन ६ लाख ५० हजार सहयोग गरेको छ भने विद्यालयको आन्तरिक श्रोत समेत गरी १० लाख रुपैया खर्च गरिएको छ । केहि कक्षाहरुमा सेक्सन समेत छन् । विद्यार्थीको चाप बर्षेनी थपिएको छ । एसईईमा सहभागी ७३ जना विद्यार्थीहरु उत्कृष्ट नतिजा सहित उर्तिण भएका छन् । नीजि विद्यालय छाडेर सामुदायिक भर्ना गराउन अभिभावकहरुको भिड नै लाग्ने गर्दछ । विद्यालयले नेपाली र अंग्रेजी दुवै माध्यममा विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्दै आएको छ । 
    कार्यक्रममा वडा अध्यक्ष केशव बञ्जारा, जिल्ला समन्वय समिति सदस्य सन्तनु केसी, प्रा.डा अम्बुभवानी कार्की, श्रोत ब्यक्ति महेश्वर जंगम, विद्यालय ब्यवस्थापन समितिका सल्लाहकार विश्वेश्वर बञ्जारा, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, शिक्षक अभिभावक संघका अध्यक्ष रामकृष्ण बञ्जारा, विद्यालय ब्यवस्थापन समितिका पूर्व सदस्य प्रदिप खड्का, शिक्षक हरि तिमल्सिना, कमल केसी लगायतले डिजिटल कक्षाका बारेमा मन्तब्य राखेका थिए ।