2026 April 21/ 04:53: 47pm

    नमोबुद्ध/नमोबुद्ध माध्यमिक विद्यालयले २०७५ सालको एसईई उत्तिर्ण विद्यार्थीहरुलाई बधाई एवं शुभकामना र सम्मान गरेको छ ।
    कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै विद्यार्थीहरुलाई एसईई अन्तिम सफलता नभई शुरु भएकाले अझै मेहनत गरी भविश्य सुन्दर बनाउन सुझाव दिए । विद्यार्थीहरुलाई थप चुनौती थपिएकाले चुनौतीको सामना गर्दे आफूलाई अभिभावक, विद्यालयले गरेको लागनीलाई खेर जान नदिन नगर प्रमुख ब्याञ्जुले आग्रह गरेका थिए । शिक्षामा राज्यले २ अर्ब लगानी गरे पनि उपल्ब्धी हासिल गर्न नसकेको नगर प्रमुख ब्याञ्जुले बताए । नगरपालिकाले १६ करोड रुपैयाँ शिक्षामा लगानी गरेको छ तर त्यसको प्रतिफल खोई ? ब्याञ्जुले प्रश्न गरे । हामीले त्यसको कारण पहिल्याई शिक्षामा सुधार ल्याउनु जरुरी रहेकाले सबै समुदाय र अभिभावक जनप्रतिनिधि लागी सामुदायिक विद्यालयको शिक्षामा सुधार गर्नुपर्ने उनले बताए । नगरले प्राथमिक तहको गुणस्तर सुधारका लागी जर्मनी संस्था र माध्यामिक विद्यालयको काठमाडौ विश्वविद्यालयसँग सहकार्य गर्ने योजना रहेको बताए । नगरपालिकाको काठमाडौ विश्वविद्यालयमा उच्च शिक्षाको लागि छात्रवृत्ति समेत रहेकाले उक्त कोटामा पर्न विद्यार्थीहरुले मेहनत गर्नुपर्ने बताए । राज्यलाई निजी विद्यालयले शिक्षामा सहयोग गरेकोले नगगरपालिकाले संस्थागत विद्यालयहरुलाई पनि सहयोग गर्ने बताएका थिए । 
    कार्यक्रममा विद्यालयका संस्थापक तथा प्याब्सनका केन्द्रिय सदस्य सत्यनारायण श्रेष्ठले २०५२ सालमा स्थापना भई २०५७ सालबाट एसलसी परीक्षामा सहभागि भएको बताए । विद्यालयबाट उतिर्ण भई विभिन्न पेशामा आबद्ध रहि विद्यालयको नाम राख्न सफल विद्यार्थीहरुलाई बधाई दिएका थिए । विद्यालयमा हाल ७ सय विद्यार्थीहरुले अध्ययन गरिरहेका, कक्षा १२ सम्म कक्षा सञ्चालन भएको र छोरीहरुको आकर्षण रहेको समेत उनले बताएका थिए । एसईई परीक्षामा ४६ जना विद्यार्थीहरु मध्ये ए प्लस ९, ए २८ र वि प्लस ८ मा उत्तिर्ण भएको जानकारी दिएका थिए । कार्यक्रममा धुलिखेल नगरपालिका वडा नं. १० का वडा अध्यक्ष पुष्प राउत, प्याब्सनका केन्द्रिय सचिव भिमसेन केसी, जिल्ला अध्यक्ष पूर्णकुमार श्रेष्ठ लगायतले विद्यार्थीहरुलाई शुभकामना दिएका थिए । कार्यक्रममा उत्तिर्ण विद्यार्थीहरुलाई प्रमुख अतिथि अशोक ब्याञ्जुले सम्मान तथा पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको सभापतित्व प्रिन्सिपल सुबर्ण श्रेष्ठले गरेका थिए ।