2026 April 21/ 04:53: 11pm

    मकवानपुर/नेपाल पत्रकार महासंघ प्रदेश नम्वर ३ समितिको साधारण सभा हेटौडामा १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । केन्द्रिय महासचिव रमेश विष्टको प्रमुख आतिथ्यता तथा अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १० जिल्लामा प्रदे सभा सदस्य र जिल्ला अध्यक्षहरुको सहभागिता रहेको थियो । 
    साधारण सभाले नेपालको संविधान २०७२ मा उल्लेख भएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्दै नेपाल पक्ष राष्ट्र रहेका अन्तर्राष्ट्रिय घोषणापत्रका मुल्य, मान्यता अनुसार सञ्चार सम्बन्धी कानुन र संरचना निर्माण गर्न तीनै तहका सरकारसँग माग गर्दै प्रेस स्वतन्त्रता संकुचित पार्ने कुनै पनि किसिमका नीति, ऐन, कानून, नियमावली, निर्देशिका र संरचना नबनाउन साधारणसभाले जोडदार माग गरेको छ । प्रेस स्वतन्त्रता, सूचनाको हक एवं अभिव्यक्ति स्वतन्त्रता सुरक्षित र सुनिश्चित गर्न माग गर्दै संसद्मा दर्ता भएको मिडिया विधेयक संशोेधन सहित पास गर्न माग गर्दछ । साथै यो विधेयक पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टीसहित संचार सम्वन्धी एकीकृत कानून यथासिघ्र निर्माण गर्न यो साधारणसभा माग गर्दछ । साथै मिडिया विधेयकका बारेमा भईरहेका आन्दोलन वार्ता र सहमति मार्फत अन्त्य गर्न सरोकारवाला निकायलाई अनुरोध गरेको छ । 
    त्यस्तै नेपाल सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक बृद्धि गर्ने निर्णय गरे पनि अधिकतम् सञ्चार गृहबाट पत्रकारलाई तोकिए अनुसार पारिश्रमिक, सेवा सुविधा नदिएको हुँदा घोषित पारिश्रमिक सहित सेवा सुविधा अविलम्ब उपलब्ध गराउन तथा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्न यो साधारण सभा माग गर्दछ । साथै श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि दबावमूलक कार्यक्रमहरु अघि बढाउन यो साधारणसभा केन्द्रीय समितिलाई अनुरोध गरेको छ । मुलुकमा संघीयता कार्यान्वयन भईसकेको अवस्थामा संचार माध्यमको दर्ता, प्रेस पास वितरण, लोक कल्याणकारी रकम भुक्तानी लगायतको व्यवस्था जिल्ला तहबाटै गर्न, सञ्चार माध्यमको वर्गीकरण प्रदेशस्तरबाटै गर्न, सामुदायिक तथा निजी क्षेत्रबाट सञ्चालित स्थानीय साना लगानीसँगै स्वरोजगारमुलक मिडिया प्रबद्र्धन गर्न, स्थानीय तहका विज्ञापन स्थानीय सञ्चार माध्यमलाई प्रदान गर्न र समानुपातिक विज्ञापन प्रणाली लागू गर्न यो साधारणसभा जोडदार माग गर्दछ ।
    अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारको विषयमा चित्त नबुझ्दा समाचार लेख्ने र प्रकाशन गर्ने पत्रकारलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७/४८ अनुसार कठोर कारबाही गर्ने गरेकोमा आपत्ति जनाउँदै नियमनकारी निकाय प्रेस काउन्सिलमार्फत नै आवश्यक प्रक्रिया अगाडि बढाउन तथा विद्युतीय कारोवार ऐनको सो दफा पत्रकार र आम सञ्चार माध्यमका हकमा आकर्षित नहुने सुनिश्चितता गर्न माग गर्दछ । रेडियो, अनलाइन संचारमाध्यमलाई छापामाध्यम सरहको मान्यता प्रदान गर्न माग गर्दै पछिल्लो पटक नविकरणको नाममा अनलाइनहरुको दर्ता खारेज गरिएकोमा गम्भिर आपत्ति प्रकट गर्दै तत्काल नविकरण हुने व्यवस्था गर्न माग गर्दछ । प्रदेश र स्थानीय सरकारमार्फत प्रदान गरिने स्थानीय तहका विज्ञापनहरु सरोकारवाला संघ संस्थाको सहभागितामा एक संयन्त्र बनाई सो संयन्त्रमार्फत समानुपातिक ढंगले वितरण गर्न सबै प्रदेश तथा स्थानीय सरकारसँग माग गर्दछ । पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानलाई जोड दिँदै सार्वजनिक पद धारण गरेका व्यक्ति, अन्य राजकीय नियुक्ति पाएका तथा पूर्णकालीन राजनीतिज्ञको भूमिकामा रही काम गरिरहेका सदस्य पत्रकार, पेशा परिवर्तन गरेका र सक्रिय पत्रकारितामा संलग्न नभएकाहरुलाई नेपाल पत्रकार महासंघको सदस्यता कायम नरहनका लागि पहिलो चरणमा स्वैच्छिक घोषणाको मौका दिने र ससम्मान बिदा दिने नीतिलाई कडाईका साथ कार्यान्वयन गर्न केन्द्रीय समितिलाई अनुरोध गर्दछ । साथै पत्रकार महासंघको नयाँ सदस्यता वितरण गर्दा निरन्तर सक्रिय, मिडियामा आबद्ध, पत्रकारितालाई मूल पेशा बनाएकालाई मात्र सदस्यता प्रदान गर्न तथा नवीकरण गर्दा निस्क्रिय रहेका, वैदेशिक रोजगारीमा गएका, राजनीतिक दलका पूर्णकालीन कार्यकर्ता, स्थानीय÷प्रदेश र संघीय निर्वाचनमा उम्मेदवार भएका र सरकारी सेवामा रहेकाको सदस्यता खारेज गरी सदस्यता शुद्धीकरण कार्यान्वयन गर्न निर्देश गर्दछ ।
    त्यस्तै निरन्तर तीस वर्ष पत्रकारिता गरेका, ६० वर्ष उमेर पुगेका अग्रज पत्रकारहरु तथा अपाङ्ता भएका पत्रकारहरुलाई मासिक रुपमा जीवन निर्वाह भत्ता उपलब्ध गराउन यो साधारणसभा आग्रह गर्दछ । साथै ज्येष्ठ पत्रकारहरुको सदस्यता सम्मानस्वरुप निशुल्क नविकरणको व्यवस्था गर्न यो साधारणसभा निर्देश गर्दछ । आम सञ्चार माध्यम र पत्रकार सम्बद्ध संघसंस्थालाई महिला, दलित, आदिवासी जनजाति, मधेसी, अपाङ्गता, अल्पसंख्यक, पिछडावर्गलगायतलाई समेटेर पूर्ण समावेसी बनाउन साधारणसभा माग गर्दै ती समुदायबाट सञ्चालित आमसञ्चार माध्यम तथा मातृभाषामा प्रकाशित प्रसारित सञ्चार माध्यमहरुलाई प्रोत्साहनका लागि विशेष सहुलियतको व्यवस्था गर्न आग्रह गर्दछ । यसैगरी सरकारी सञ्चार माध्यममा मातृभाषा कार्यक्रमका लागि लिइने परीक्षामा मातृभाषामै प्रश्नपत्र र उत्तर दिने व्यवस्था गर्न आग्रह गर्दछ । पत्रकारको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि आवश्यक तालिम, अध्ययन–अनुसन्धानका लागि प्रदेशस्तरमै आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न माग गर्दछ । साथै केन्द्रिय स्तरको आम संचार प्रशिक्षण प्रतिष्ठान बनाउने सरकारको निर्णय र उक्त प्रतिष्ठान चितवन जिल्लामा बनाउने नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको नीतिगत निर्णयलाई अविलम्व कार्यान्वयन गर्न यो साधारण सभा अनुरोध गर्दछ । पत्रकारलाई थप अध्ययनका लागि निष्पक्ष र पारदर्र्शी रुपमा छात्रबृत्ति कार्यक्रम लागू गर्न माग गर्दछ । पत्रकार महासंघमा आबद्ध सम्पूर्ण सदस्यहरुलाई दुर्घटना तथा स्वास्थ्य बीमाको अनिवार्य व्यवस्था गर्न र विमाको व्यवस्था गर्दा सूचना विभागले उपलब्ध गराएको प्रेस पास नभएका व्यक्तिको हकमा पत्रकार महासंघको सिफारिसबाट हुने व्यवस्था गर्न प्रस्ताव गर्दछ । आमसंचार नीति २०७३ ले निर्देश गरे अनुसार कानून र संरचना बनाउन र मिडियाको वर्गीकरण गर्न माग गर्दछ । नेपालको संविधानले विद्युतीय र छापामाध्यमलाई समान हैसियत दिए पनि व्यवहारमा रेडियोलाई विभेद गरिएको हुँदा सामुदायिक तथा साना लगानीका रेडियोलाई रोयल्टी र नवीकरण शुल्क मिनाह गर्न र समानुपातिक लोक कल्याणकारी विज्ञापन नीति कार्यान्वयन गर्न प्रस्ताव गर्दछ । नेपाल पत्रकार महासंघको सदस्यता परिचयपत्रको आधारमा सिंहदरबार प्रवेशको सहज व्यवस्था, बिमाको व्यवस्थासहित अन्य सुविधा उपलब्ध गराउन यस साधारणसभा माग गर्दछ । नेपाली सञ्चारमाध्यमहरुमा दृष्य, अदृष्य तवरले विदेशी लगानी भित्र्याउन नपाइने व्यवस्था गर्न यो साधारणसभा प्रस्ताव गर्दछ । कुनै सञ्चारमाध्यममा त्यसखालको लगानी भित्रिएको छ भने तत्काल अबैध घोषणा गर्न आग्रह गर्दछ । संघीय संरचना अनुसार नेपाल पत्रकार महासंघको विद्यान तयार गर्ने पोखरामा सम्पन्न केन्द्रिय साधारण सभाको निर्णयलाई तत्काल कार्यान्वयन गर्न यो साधारण सभा केन्द्रिय समितिलाई अनुरोध गर्दछ । प्रमुख पर्यटकीय नगरी प्रदेश नम्वर ३ का प्रमुख पर्यटकीय स्थलहरुको पर्यटकीय विकास र समृद्धिका लागि तत्काल पहल गर्न नेपाल सरकारलाई अनुरोध गर्दै प्रदेश सरकारद्वारा घोषणा गरिएको आन्तरिक पर्यटन वर्ष सफल पार्न आवश्यक प्रचार प्रसारका लागि सम्पूर्ण सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरुमा हार्दिक आह्वान गर्दछ ।
    साधारणसभा विभिन्न समयमा मारिएका पत्रकारहरुप्रति उच्च सम्मान व्यक्त गर्दै पत्रकारका हत्यारालाई कारवाहीको दायरामा ल्याउन, वेपत्ता पत्रकारको अवस्था सार्वजनिक गर्न तथा घाइतेको उपचार गर्न माग गर्दछ । साधारणसभा भव्य रुपमा सफल पार्न सहयोगका साथै महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रेस रजिस्टारको कार्यालय, नेपाल पत्रकार महासंघ केन्द्रिय समिति, प्रदेश समिति, मकवानपुर शाखा, हेटौडा उप महानगरपालिका, भिमफेदी गाउँपालिका, न्युनतम पारिश्रमीक निर्धारण समिति, राष्टिय सूचना आयोग, एवं सबै संघ संस्था, आम पत्रकार साथीहरु र स्थानीय जनसमुदायप्रति साधारणसभाले धन्यवाद ब्यक्त गरेको छ । साधारण सभामा महासचिव कृष्ण सारु मगर र कोषाध्यक्ष सिताराम अधिकारीले पेश गर्नु भएको सांगठनिक तथा आर्थिक प्रतिवेदन सर्वसम्वतबाट पास भएको थियो । 
    सभामा प्रस्ताव लेखन समितिमा नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना संयोजक थिए भने नवराज छतकुल्ली धादिङ्ग, राधेश्याम खतिवडा चितवन, महेश श्रेष्ठ सिन्धुपाल्चोक, बद्री नयाँघरे रामेछाप, राजन कार्की सिन्धुली र हरि पोखरेल चितवन सदस्य रहेका थिए ।