काठमाडौं/सामाखुसी साहित्य समाजको आयोजनामा लिङ्कन कलेजको सभाकक्षमा ९९ औं श्रृङ्खलामा समसामयिक देशको स्थितिबारे कविहरुले कविता वाचन गरे ।
कवि गोष्ठीमा लव गाउँले, महादेव अधिकारी, मदन थापा, श्रीहरि फुयाँल, कृष्णदेव रिमाल, वासुदेव गुरागाईं, उर्मिला पन्त पाण्डे, तारा के.सी. लगायत ५० औं जना कविहरुले आफ्ना कविताहरु पढेर एक–अर्कामा कविता सम्प्रेषण गरे । पद्य र गद्यमा कविहरुले कविता वाचन गर्दै आ–आफ्नो धुनमा कविता सुनाइरहँदा कविता शिविर भइरहेको जस्तो देखिएको थियो । समाजका अध्यक्ष भाग्यशाली अधिकारीको अध्यक्षतामा संचालन भएको उक्त कवि गोष्ठीमा प्रमुख अतिथि साहित्यकार तथा जनमत मासिकका प्रधान सम्पादक मोहन दुवालले ‘साहित्यमा आफ्नो मोह र लत बसेको’ र ‘जीवनमा सबभन्दा मनोरम ढङ्गले स्वीकारेको विषय साहित्य नै भएको र साहित्यिक पत्रिका जनमत निकाल्न पाएर आफूमा ऊर्जा थपिएको’ सन्दर्भ सुनाउँदै भने – “समाजसेवा, राजनीतिक कर्म र शिक्षणसेवामा भन्दा सबभन्दा सुखद् अनुभूति भएको विषय साहित्य भयो ।”
कार्यक्रमका विशिष्ट वक्ता चर्चित कवि तथा समालोचक डा.रामप्रसाद ज्ञवालीले कविताको मर्म त्यसबेला खुल्छ जब कवितामा चेतना र कलाको संयोजन उत्कृष्ट किसिमले भएको हुन्छ । कवितामा लय, ताल, विचार र सौन्दर्य सबैथोक खुल्नुपर्ने विचार व्यक्त गरे ।





