2026 April 21/ 02:43: 07pm

    पाँचखाल/बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना ४० जना ग्राहक सदस्यहरुको सहभागितामा पाँचखालमा “वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको छ । 
    संस्थाका अनुगमन विभागका प्रमुख विश्व राज श्रेष्ठका अनुसार तालिममा विश्वराज श्रेष्ठ, युवराज पौडेल शर्मा, सन्तोष थापा, दिल बहादुर थापा मगर प्रशिक्षक रहेका थिए । संस्थाले विगत चार वर्षदेखि देशको पूर्वका पहाडि जिल्लाहरुलाई आफ्नो कार्य क्षेत्रका ग्रामीण विपन्न परिवारहरुलाई लक्षित गरी लघुवित्त सेवा प्रदान गर्दै आएको छ । तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा संस्थाका बनेपा शाखाका प्रमुख दिल बहादुर थापा मगरले प्रकाश पारेका थिए । वित्तीय संस्थाले १५ जिल्लाका २० वटै शाखा कार्यालय अन्तर्गत ग्राहक सदस्यहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गर्ने लक्ष्य रहेको अनुगमन विभागका प्रमुख विश्वराज श्रेष्ठले जानकारी गराएका थिए । वित्तीय संस्थाले तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्कि, तनहूँ, धादिङ्ग र गोरखा गरी १५ वटा जिल्लाहरुमा २० वटा शाखा कार्यालयहरुको सञ्जाल मार्फत लघुवित्त सेवा प्रदान गर्दै आई रहेको छ । 
    संस्थाले पूर्वका अति विकट तथा विकट ग्रामीण क्षेत्रका शोषित, उत्पिडित, पिछडिएका गरीब विपन्न परिवारहरुका महिला दिदी बहिनीहरुलाई विना धितो सामूहिक जमानीमा कर्जा प्रदान गर्दै आई रहेको छ । संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई सचेतनामूलक कार्यक्रमका साथै वित्तीय साक्षरता तालिम आदि समेत प्रदान गर्दै आई रहेको छ । बैशाख मसान्तसम्ममा १४,६७५ विपन्न घरधुरीहरुमा सेवा विस्तार गरेको छ । वित्तीय संस्थाको २०७६ बैशाख मसान्तमा लगानीमा रहेको कर्जा रु. ४७ करोड ४४ लाख ६९ हजार ४७७ रहेको छ भने ग्राहक सदस्यहरुको बचत रु. १४ करोड ८६ लाख ९१६ बचत परिचालन गरेको छ । तालिमको अन्तिममा सहभागी केन्द्र प्रमुख कल्पना हुमागाँईले तालिमको मूल्याकंन सहित मन्तब्य राखेकी थिईन् । वित्तीय साक्षरता तालिमबाट ज्ञानमूलक, ब्यवहारमूलक, शिक्षामूलक कुराहरु सिक्न पाएकोमा सहभागीहरुले खुसी ब्यक्त गरेका थिए । तालिममा सम्पूर्ण सहभागीहरु सक्रिय रुपमा भाग लिएका थिए । तालिमको संचालन बनेपा शाखाका शाखा प्रमुख दिल बहादुर थापा मगरले गरेका थिए ।