2026 April 21/ 02:44: 03pm

    बनेपा/गृह जिल्ला काभ्रेपलाञ्चोकमा संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले मिडिया विधेयक तथा सरकारले गरेका कामका विषयमा भएको आलोचना र ब्यक्तिगत विषयमा गरिएका टिप्पणी प्रति आफ्नो धारणा सार्वजनिक गरेका छन् । 
    पूर्व सांसद नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले मन्त्री बास्कोटालाई केहि दिन अघि प्रधानमन्त्री ओलीको घर कुर्न बसेका चौकिदार भएको बताएका थिए । मन्त्री बास्कोटाले उनको नाम नै नलिई कसैको सम्पत्ति चोरी गरेर प्रयोग गर्नु भन्दा चौकिदार हुनु राम्रो भएको बताए । ‘मलाई कसैको सम्पत्ति चोरी गरेर चोर हुनु भन्दा चौकीदार हुन मनपर्छ’–मन्त्री बास्कोटाले भने । नेता रामहरी खतिवडाले केहि वर्ष अघि घडी चोर्नु भएको प्रसंग मन्त्री बास्कोटाले स्मरण गराई दिए । त्यस्तै कानुन ब्यवयासी शम्भु थापाले केहि दिन अघि मिडिया विधेयकका बारेमा मन्त्री बास्कोटाको हुलिया नमिलेको भन्दै कटाक्ष गरेका थिए । ‘मेरो हुलिया काभ्रे जिल्लाका जनताले बनाएका छन्, मेरो हुलिया अपराधी र तस्करको पक्षमा छैन’–मन्त्री बास्कोटाले भने –‘पैसा कसरी कमाईन्छ अर्थात पैसा आउँछ भन्दैमा अपराधी, तस्कर र माफियाको पक्षमा वकालत गर्नेहरुसँग मेरो हुलिया मिल्नु पर्दैन । काभ्रेली जनता र काभ्रेको विकासका लागि मेरो हुलिया मिल्छ र काभ्रेली जनताले नेपालकै दोश्रो धेरै पपुलर मत दिनुभयो ।’
    ‘सरकारको काम कानुन बनाउने, सरकार चलाउने र त्यसको पक्षमा वकालत गर्ने हो’– मन्त्री बास्कोटाले भने –‘समाजवाद उन्मुख संविधान कार्यान्वयन गर्नु हो, जनआन्दोलन सहितका आन्दोलनका भावना अनुरुप मुलुकलाई अगाडी बढाउनु हो । काभ्रेली जनताले चिन्नुभएको हुलिया ब्यवसायिक रुपमा पैसा कमाउन जस्तोसुकै विषयलाई पनि राम्रो हो भन्नेहरुले चिन्नैपर्छ भन्ने छैन ।’ नेपालको पत्रकारिता पुँजीवादपन्थ हावी भएको बताउँदै मन्त्री बास्कोटाले स्वरोजगारमुलक मिडियालाई बलियो बनाउन, समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न र मिडिया क्षेत्रलाई अराजकताबाट रोक्न मिडिया विधेयक ल्याईएको बताए । सरकारपूर्ण लोकतान्त्रिक भएकाले कसैले पनि शंका नगर्न आग्रह गर्दै मन्त्री बास्कोटाले नेपालको पत्रकारितालाई आमुल परिवर्तन गरी जनताकै भावना अनुसार राष्ट्रलाई समृद्ध बनाउन मिडिया विधेयकसँगै आमसंचार नीति समेत ल्याउन लागिएको जानकारी गराए । ‘सरकार काम गरिरहेको छ तर सरकारलाई बदनाम गर्न स्याल हुईया मच्चाईएको छ’–मन्त्री बास्कोटाले भने –‘सरकारले भूमिहिनहरुको अधिकारलाई संरक्षण गर्न आयोग बनाउने र जनतालाई बलियो बनाई मुलुकलाई समृद्ध बनाउने अभियान शुरु गरेको छ ।’ ‘आजको सरकार लोकतन्त्रको संस्थापक हो उपभोक्ता होईन’–मन्त्री बास्कोटाले भने –‘कुकुर भुक्दै गर्छ, हात्ति लम्कदै जान्छ ।’ जिल्लाबाट प्रकाशन भईरहेको डाँडापारी सन्देशको दोश्रो बार्षिकोत्सव कार्यक्रमको अवसरमा मन्त्री बास्कोटाले उक्त धारणा राखेका हुन् । पत्रिकाका प्रकाशक बुद्ध लोप्चनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व राज्यमन्त्री सुर्यमान दोङ्ग, संघीय सांसद् गंगाबहादुर दोङ्ग, प्रदेश सांसदहरु चन्द्र लामा र रत्न ढकाल, नेपाल पत्रकार महासंघ प्रदेश ३ का उपाध्यक्ष यदुनाथ गौतम, जिल्ला अध्यक्ष मोतीराम तिमल्सिना, प्रेस काउन्सिल सदस्य इश्वरी ओझा, प्रेस युनियन अध्यक्ष कपिल कोईराला, नेकपा नेताहरु इन्द्रबहादुर थिङ्ग र शेखर लामा लगायतले डाँडापारीको विकासका लागि पत्रिकाले शशक्त भूमिका खेल्नु पर्ने बताए ।