धुलिखेल/काभ्रेपलाञ्चोकमा आगलागीका कारण सृजना हुने विपद् र त्यसबाट बच्ने उपायबारे चेतनामूलक तथा व्यवहारिक अभ्यास गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको संयोजन र जिल्लास्थित सुरक्षा निकायहरूको सहभागितामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । जिल्ला समन्वय समितिको प्राङ्गण धुलिखेलमा आयोजित उक्त व्यवहारिक अभ्यासमा नेपाली सेनाको श्री मेहर गण, धुलिखेल, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक तथा सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हे.क्वा., पाँचखालको विशेष सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले विपद्बाट बच्नका लागि सबै नागरिक सचेत र पूर्वतयारी अवस्थामा रहनुपर्नेमा जोड दिए । विशेष गरी घरभित्र हुने आगलागीका घटना, एलपी ग्याँस प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, शरीरमा अकस्मात् आगो लाग्दा निभाउने उपाय, तथा घरभित्र आगजनी हुँदा फसेका नागरिकको खोज, उद्धार र प्राथमिक उपचारबारे सर्वसाधारणलाई सचेत गराउन यो अभ्यास आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।
सञ्जिवनी माध्यमिक विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा आगलागी नियन्त्रणका लागि प्रयोग गरिने विभिन्न उपकरण, फायर एक्सटिङ्गुइसर, फायर बल, डोरी तथा उद्धार सामग्रीको प्रदर्शन र प्रयोग विधि देखाइएको थियो ।
कार्यक्रममा जिल्लास्थित कार्यालय प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू, सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र विक, जिल्ला प्रशासन कार्यालय काभ्रेकी प्रशासकीय अधिकृत सुनिता थापा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सहभागी वक्ताहरूले विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि यस्ता व्यवहारिक अभ्यासहरू नियमित रूपमा सञ्चालन गरिनुपर्ने बताए ।









