2026 October 18/ 01:06: 25am

मनकामना सहकारीको २ अर्ब ३० करोडको वासलात
    बनेपा/मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३१ औं बार्षिक साधाराण सभाको समापन कार्यक्रम केन्द्रीय कार्यालय बनेपामा सम्पन्न गरेको छ । ६ वटा सेवा कार्यालयमा आयोजना गरेको साधारण सभा सम्पन्न पछि केन्द्रिय कार्यालयमा साधारण सभा आयोजना गरिएको हो । 
    सभामा बदलिएको सहकारी नीति, संचालक तथा कर्मचारी सम्वन्धी ब्यवस्था, बचत तथा ऋणको कारोवारका विषय, आम्दानी तथा खर्च सम्वन्धी विविध विषयमा सहकारीले गर्नु पर्ने भुमिका र योजनाका बारेमा छलफल भएको थियो । सभामा अध्यक्ष गोपालप्रसाद घिमिरेले समग्र अवस्था, आगामी योजना र चुनौतीका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार तथा पुर्व अध्यक्ष बालकृष्ण दाहालको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी दाहालले सहकारी क्षेत्रका समस्याहरुलाई मनकामना सहकारीले पनि नजिकबाट नियाल्दै बचतकर्ताहरुको बचत सुरक्षा, लगानी गरिएको ऋण असुली र सदस्यमैत्री कार्यक्रमलाई दिएको प्राथमिकतालाई प्रभावकारी रुपमा लैजान सुझाव दिए । 
    कार्यक्रममा उपाध्यक्ष विदुरप्रसाद घिमिरे, सचिव नवराज आचार्य, कोषाध्यक्ष विकास तिमल्सिना, लेखा सुपरिवेक्षण समितिका संयोजक देवप्रसाद कोईराला, सल्लाहकार राजकुमार हुमागाई, वडा अध्यक्ष बलराम अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, जिल्ला सहकारी संघका कोषाध्यक्ष अर्जुन सापकोटा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका प्रमुख कार्यकारी अधिकृत गुरु ढकाल, विभिन्न सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरु, राष्ट्रिय सहकारी बैकका उपेन्द्र दाहाल लगायतले सहकारीका विषय बस्तु माथी धारणा राखेका थिए । 
    सहकारीमा आर्थिक वर्ष २०८२/०८३ को अन्त्यमा १० हजार ५ सय ४४ शेयर सदस्यबाट १६ करोड २४ लाख १४ हजार ७ सय शेयर पुँजी संकलन भएको प्रमुख कार्यकारी अधिकृत सिताराम तिमल्सिनाले जानकारी दिए । ३२.६७ प्रतिशत तरलता रहेको सहकारीले उक्त आर्थिक वर्षमा १७ करोड संस्थागत पुँजी बनाएको छ । त्यस्तै १ अर्ब ६९ करोड, ९८ लाख ६५ हजार ७ सय १९ रुपैयाँ ऋण लगानी, १ अर्ब ९२ करोड ९६ लाख ८ हजार २ सय २६ रुपैयाँ बचत गरी २ अर्ब ३० करोड ५२ लाख ९८ हजार ६ सय ४३ रुपैयाँको वासलात तयार गरेको प्रमुख कार्यकारी अधिकृत तिमल्सिनाले बताए । 
    सहकारीले वित्तिय साक्षरता, सहकारी शिक्षा, विद्यालय शिक्षा, विभिन्न प्रकारका स्वास्थ्य शिविर, बाल शेयर सदस्य तथा एसईई र कक्षा १२ मा उत्तिर्ण गरेका उत्कृष्ट विद्यार्थी सम्मान, जेष्ठ सदस्य सम्मान सहित तिर्थाटन, सुत्केरी महिलाहरुलाई भेटघाट, रक्तदान लगायतका सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यक्रम संचालन गरिरहेको छ । 

बुडोल सामुदायिक साकोसको २७ औँ वार्षिक साधारण सभा 
    बनेपा/बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २७ औँ वार्षिक साधारण सभाको एकाइ बैठकबाट भएका निर्णयहरुलाई एकाइ प्रतिनिधिहरुको निर्णय प्रमाणित सभाले पारित गरेसँगै संस्थाको २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 
    संस्थाले सहकारी संस्थाको साधारण सभा (कार्यव्यवस्था) निर्देशिका, २०७६ बमोजिम एकै साथ एकै समय तालिकामा साधारण सभाको चारवटा एकाइ बैठकको आयोजना गरी समान कार्यसूचीहरु उपर छलफल गरी असोज २४ गते एकाइ बैठकहरु सम्पन्न गरेको थियो । साधारण सभाको एकाई बैठकहरुमा कुल सदस्य संख्याको ५९.४२ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको थियो । सभामा पेश गरिएको अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०८२÷०८३ मा तीन करोड चौतीस लाख उनान्सय हजार छसय सन्तानब्बे रुपैयाँ सत्र पैसा सञ्चालन मूनाफा गरेको छ । सोही अवधिमा संस्थाको कुल सम्पत्ति दुई अर्ब छब्बीस करोड छैसठ्ठी लाख चौरानब्बे हजार सातसय उनान्सय रुपैयाँ पन्ध्र पैसा, बचत हिसाब एक अर्ब अठासी करोड पैतीस लाख सन्तानब्बे हजार तीनयस दश रुपैयाँ सतहत्तर पैसा, शेयर पूँजी चौध करोड पचपन्न लाख दुई हजार नौसय रुपैयाँ, संस्थागत पूँजी उन्नाइस करोड छयासी लाख सैतीस हजार बयासी रुपैयाँ सत्तरी पैसा, लगानीमा रहेको ऋण एक अर्ब अठ्ठाइस करोड सत्चालिस लाख अठासी हजार पाँचसय बीस रुपैयाँ त्रिचालिस पैसा रहेको छ ।
    साधारण सभाले आर्थिक वर्ष ०८२÷०८३ को मूनाफाबाट सदस्यहरुलाई ६ प्रतिशतका दरले लाभांस र संरक्षित पूँजी फिर्ता कोषमार्फत सदस्यहरुले बचत र ऋणमा गरेको योगदानको लागि २÷२ प्रतिशतका दरले अतिरिक्त लाभ वितरण गर्ने निर्णय गरेको छ । साधारण सभा सम्पन्न भएसँगै लागु हुने गरी औषधी उपचारको क्रममा अस्पताल भर्ना भई बसेका सदस्यहरुलाई तीन हजार रुपैयाँ स्वास्थ्योपचार सहयोग उपलब्ध गराउने गरी सभाले आर्थिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि समेत पारित गरेको छ । यसअघि नै संस्थाले प्रसूति महिला सदस्यहरुलाई ६ हजार पाँचसय बराबरको मातृत्व सुरक्षा सहयोग, एक लाख बराबरको दुर्घटना बीमा सुविधा, घातक रोगमा सदस्यहरुलाई बीस हजार बराबरको उपचार सहयोग, सदस्यको मृत्युमा परिवारलाई तीस हजार रुपैयाँ काजकिरिया खर्च सहयोग, प्राकृतिक प्रकोपमा बीस हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । संस्थाले सम्पूर्ण सदस्यहरुको समानान्तर शेयर कायम गर्दै मूनाफामा मात्र केन्द्रीत नभै सदस्यहरुले विभिन्न अवस्थामा विभिन्न खालका लाभहरु प्राप्त गर्न सक्ने गरी योजना अगाडि सारेको छ ।

प्रगतिशील बहुउद्देश्यीय सहकारीको २७ औ साधारण सभा, अध्यक्षमा  शुभप्रसाद 
उद्धब प्रसाद अधिकारी/पाँचखाल 
          प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाको २७ औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष केशवप्रसाद काफ्लेको अध्यक्षता तथा पाँचखाल नगरपालिकाकी उपप्रमुख सूर्यमाया दनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
             साधारण सभाले शुभप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा तोयनाथ सापकोटा, सचिव रमेशप्रसाद सापकोटा, कोषाध्यक्ष सुरेन्द्रकुमार थापा सदस्यहरुमा अनिता गिरी, कल्पना हुमागाईं, सीता कोइराला, उद्धवप्रसाद अधिकारी र राजन सार्की निर्वाचित भएका छन् । त्यसैगरी लेखा समिति संयोजकमा सुदर्शन अधिकारी तथा सदस्यमा महेश अधिकारी र रामशरण अधिकारी चयन भएका छन् । 
सभामा संस्थाको शेयर पुँजी २ करोड ९३ लाख ९२ हजार, बचत रकम १५ करोड २९ लाख २८ हजार, कर्जा लगानी १३ करोड ६८ लाख ९६, कर्जा असुली ७ करोड ८ लाख ९२ हजार रहेको जनाएको छ । संस्थाले सञ्चालन गरेको मार्ट पसल तर्फ शेयर पुँजी १२ लाख २० हजार रुपैयाँ रहेको छ । संस्थाको आयकर व्यवस्था अघिको खुद बचत (नाफा) गत आर्थिक वर्षमा ४५ लाख १० हजार रहेकामा चालु आर्थिक वर्षमा ११ लाख तीन हजार रहेको जनाएको छ । 
सभाकी प्रमुख अतिथी सुर्यमाया दनुवारले स्थानीय स्तरमा बचत परिचालन, कर्जा प्रवाह तथा सदस्यको आर्थिक गतिविधिलाई सहयोग गर्दै आएको संस्थाले आगामी दिनमा समेत सदस्य  केन्द्रित सेवा र संस्थागत विकासलाई निरन्तरता दिनु पर्ने वताईन् । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकी प्रवक्ता अप्सरा ढुंगाना सिपखान, संस्थापक अध्यक्ष विष्णुप्रसाद भट्टराई, पाँचखाल नगरपालिका–३ का वडाध्यक्ष एवं संस्थाका शेयर सदस्य सुन्दर अधिकारी, संस्थाका सल्लाहकार शुभप्रसाद अधिकारी, आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाका सचिव रामप्रसाद कोइराला, स्वेच्छा बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष सुनिल सापकोटा र ग्रामीण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष इन्दिरा गौतमलगायतले सहकारीको भूमिका, सदस्यको आर्थिक उन्नति तथा संस्थागत विकासका विषयमा शुभकामना मन्तव्य राखेका थिए । सभामा उत्कृष्ट बचतकर्ता, असल ऋणी, उत्कृष्ट बाल बचतकर्ता तथा ज्येष्ठ सदस्यहरु, एसईई परीक्षा र कक्षा १२ मा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका सचिव रमेशप्रसाद सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष सरोज न्यौपानेले स्वागत मन्तव्य राखेका  थिए । 

पाँचखाल भ्याली साकोसको १६ औ वार्षिक साधारण सभा

             पाँचखाल/पाँचखालमा रहेको पाँचखाल भ्याली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औ बार्षिक साधारण सम्पन्न भएको छ । 
 साधारण सभा संस्थाका संस्थापक अध्यक्ष भोलानाथ दंगालको प्रमुख आतिथ्तामा तथा संस्थाका अध्यक्ष केदार लुईटेलको सभापतित्वमा भएको थियो । कार्यक्रममा संस्थाको  आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिबेदन सचिब जिवनाथ अधिकारीले आर्थिक प्रतिबेदन कोषाध्यक्षले सभामा प्रस्तुत गरेका थिए । संस्थाको कुल शेयर पूजीं १ करोड ७२ लाख, ८४ हजार, बचत ५ करोड २८९ लाख ८७ हजार, ऋण लगानी ५ करोड ८१ लाख रहेको प्रबन्धक बुद्धिकृष्ण बोलखेले बताए । 
              कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने उत्कृष्ट बचतकर्ता, ऋणी, शेयर सदस्य, जेष्ठ सदस्य र बाल बचत कर्ता, एसई र्ए मा उत्तिर्ण बाल सदस्यहरुलाई सम्मान गरिएको थियो ।

भोंमी बहुउद्देश्यीय सहकारीको २८ औं वार्षिक साधारण सभा 
    बनेपा/भोंमी बहुउ२ेश्यीय सहकारी संस्था लिमिटेडको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरिबहादुर श्रेष्ठको सभापतित्वमा आयोजित उक्त सभाको उद्घाटन संस्थाका निवर्तमान अध्यक्ष हरिशरण श्रेष्ठले गरेका थिए ।
    संस्थाका उपाध्यक्ष गणेश नारायण जोशीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममासचिव कान्छाकुमार श्रेष्ठले सचिवको प्रगति प्रतिवेदन, कोषाध्यक्ष कैलाश श्रेष्ठले आर्थिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक सुन्दरप्रसाद कारञ्जितले लेखा समितिको प्रतिवेदन, महिला उपसमिति संयोजक मिनु रञ्जितले महिला उपसमिति प्रतिवेदन र बाल उपसमिति संयोजक अन्जना जस्पाउ श्रेष्ठले बाल उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    संस्थाका निवर्तमान अध्यक्ष हरिशरण श्रेष्ठ, पूर्व अध्यक्षहरू सत्य नारायण भालु तथा मोहन कृष्ण श्रेष्ठ, सल्लाहकारहरू ओमकाजी प्रजापति तथा बुद्धरत्न मानन्धरले संस्थाको प्रगतिको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थामा शेयर पुँजी र निक्षेप संकलन देशको समग्र आर्थिक मन्दिका बाबजुद पनि आर्थिक वर्ष २०८२÷०८३ को मसान्तसम्ममा कुल शेयर पुँजी १ करोड ५० लाख ८८ हजार ६ सय पुगेको छ भने कुल बचत निक्षेप संकलन १६ करोड ४१ लाख २८ हजार ९ सय ४० कायम भएको छ । त्यस्तै कर्जा लगानीमा संस्थाले आफ्ना सदस्यहरूको कृषि, व्यापार तथा घरायसी आवश्यकतालाई ध्यानमा राखी कुल ११ करोड ४९ लाख ४६ हजार २ सय ६ रुपैयाँ कर्जा परिचालन गरेको छ । खुद मुनाफा वित्तीय अनुशासन र चुस्त व्यवस्थापनका कारण संस्थाले समीक्षा वर्षमा रु. २५ लाख ४१ हजार ३ सय ४३ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।  
    संस्थामा महिला शेयर सदस्य ९२९, पुरुष शेयर सदस्य ९०६, संस्थागत सदस्य ३० र बाल सदस्य ४३९ गरी कुल २,३०४ जना सदस्यहरू आबद्ध रहेका छन् । रासायनिक मल तथा ग्यास वितरणः संस्थाले बनेपा नगरपालिका तथा सम्बन्धित निकायसँगको समन्वयमा कृषक सदस्यहरूलाई सहुलियत दरमा रासायनिक मल तथा सगरमाथा ग्यासको आधिकारिक डिलरमार्फत ग्यास बिक्री वितरण निरन्तर गर्दै आएको छ । नियमित बचतकर्ताहरूलाई सुत्केरी सहयोग, स्वास्थ्य उपचार खर्च तथा मृत्यु राहत सुविधा उपलब्ध गराउनुका साथै बालबालिकाका लागि खुत्रुके बचत, कन्या तथा कुमार पूजा र ज्येष्ठ नागरिकहरूका लागि तीर्थाटन कार्यक्रम सञ्चालन गरेको छ । 
    सदस्यहरूलाई सहज सेवा दिन आइ.एम.इ.पे मार्फत विद्युत्, खानेपानी, मोबाइल टपअप, इन्टरनेट भुक्तानी तथा क्युआर (त्तच्) स्क्यान प्रविधि उपलब्ध गराइएको छ । आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि संस्थाले २३ करोड ११ लाख १५ हजारको कुल अनुमानित बजेट तथा प्रस्तावित कार्यक्रमहरू प्रस्तुत गरेको छ, जसलाई साधारण सभाले सर्वसम्मतिले पारित गरेको छ ।

अर्थभूमि साकोसमा नरबहादुर अध्यक्ष 
            धुलिखेल/अर्थभूमि बचत तथा ऋण सहकारी संस्था लिको १७ औ वार्षिक साधारण सभाबाट नर बहादुर तामाङको अध्यक्षमा नयाँ कार्य समिति चयन भएको छ । 
साकोसको उपाध्यक्ष सागरमणि श्रेष्ठ, सचिब सञ्जिव कुमार माकाज,ु कोषाध्यक्ष विरकर्ण माकाजु, सदस्यहरुमा तिलक बहादुर श्रेष्ठ, सुरेश भुखजु श्रेष्ठ र श्याम सुन्दर लामा निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी लेखा सुपरिबेक्षण समितिको संयोजकमा सुनिता सोंजु सदस्यमा रुपक श्रेष्ठ र नारायण तामाङ रहेका छन् । साधारण सभाको सभापतित्व अध्यक्ष जयकृष्ण न्हसिजु श्रेष्ठले गरेका थिए । सभामा संस्थाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिबेदन सचिब सजिंब कुमार माकजुले आर्थिक प्रतिबेदन विरकृष्ण माकजुले र लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक सुनिता सोंजुले सभामा प्रस्तुत गरेका थिए । 
        संस्थाको कुल शेयर पूजीं १ करोड २७ लाख २५ हजार, बचत तथा निक्षेप संकलन १४ करोड ८५ लाख ८२ हजार, कर्जा लगानी ११ करोड २४ लाख ५६ हजार रहेको जनाएको छ । कार्यक्रममा संस्थाका ब्यबस्थापक शैलेश श्रेष्ठले प्रचलित सहकारी ऐन, नियम, सहकारी रजिष्टारद्धारा जारी निर्देशिका तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरण निकायका मापदण्डहरुको पुर्ण पालना गरी संस्था सञ्चालन गरिएको बताए । संस्थाले सामाजिक उत्तर दायित्व अन्र्तगत रक्तदान, स्वास्थ्य शिबिर, सदस्य राहत कार्यक्रम गर्दे आएको श्रेष्ठले बताए । 

आदर्श साकोसको १८ औ वार्षिक साधारण सभा, अध्यक्षमा विकास 
     बनेपा/आदर्श बचत तथा ऋण सहकारी सस्थालिको १८ औ वार्षिक साधारण सभा काभ्रेपलाञ्चोक जिल्ला बचत सघंका अध्यक्ष उदयराम कायस्थको प्रमुख आतिथ्यतामा तथा संस्थाका अध्यक्ष उमेश मानन्धरको सभापतित्वमा सम्पनन भएको छ । 
             प्रमुख अतिथी कायस्थले सहकारीको विनियम नीति र कार्यविधिको अधिनमा रही कारोबार गर्नुपर्नेमा केहि सहकारीले गलत गरेका कारण सहकारीहरु बदनाम भएको बताए । सहकारी भनेको सदस्यहरुको आर्थिक विकास र समृद्धिका लागी भएकाले सोहि अनुरुप आदर्श साकोसले गरेको बताए । सहकारीको पछिल्लो अबस्था केही सहकारीका कारण बदनाम हुदै गएकाले हामिले सहकारीका बारेमा बुझाउनु पर्ने कायस्थको भनाई रहेको थियो । सहकारीले सामन्य नागरीकलाई समेत समेटेको बताउँदै केहि सहकारीले खराब गरे भन्दैमा सबैलाई एउटै रुपमा हेर्न नमिल्ने कायस्थको जिकिर रहेको थियो । सभामा सस्थाका अध्यक्ष उमेश मानन्धरले सदस्य स्वयं सहकारीको मालिक भएकाले संस्थाको आर्थिक तथा सामाजिक गतिविधीमा जानकारी राख्नु पर्ने बताए । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८२÷०८३ को  वार्षिक प्रतिबेदन सचिब निरञ्जन मानन्धरले आर्थिक प्रतिबेदन कोषाध्यक्ष विकास मानन्धरले लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक प्रमिश जोशीले सभामा प्रस्तुत गरेका थिए । 
          संस्थाको कुल कारोबार १६ करोड ९३ लाख ८७ हजार, शेयर पूजीं १ करोड ७० लाख ९६ हजार, बचत संकलन १४ करोड १७ लाख ३३ हजार, कर्जा लगानी ११ करोड २२ लाख ३९ हजार,  जगेडा कोष ५१ लाख ६ हजार रहेको जनाएको छ । सभामा सस्थमा उत्कृष्ट कारोबार गर्ने बचत कर्ता, ऋणी, शेयर सदस्य र कर्मचारीलाई सम्मान गरिएको थियो । सभाबाट विकास मानन्धरको अध्यक्ष निर्वाचित भएका छन् । संस्थाको उपाध्यक्षमा रिकेश श्रेष्ठ सचिब बुद्धरत्न मानन्धर, कोषाध्यक्ष निरञ्जन मानन्धर सदस्यहरुमा सुधामा राजबाहक, सरिता मानन्धर, रामप्रसाद मानन्धर, शिबराम घिमिर र सुजिता पोटे रहेका छन् । त्यसै गरी लेखा सुपरिबेक्षण समितिको संयोजक बसन्त श्रेष्ठ सदस्यमा रमना मानन्धर र मदन मानन्धर रहेका छन् । 

झिगु सहयोगी साकोसको १९ औ वार्षिक साधारण सभा सम्पन्न
           बनेपा/झिगु सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १९ औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष बुद्धरत्न मानन्धरको अध्यक्षतामा सम्पन्न भएको छ । 
सभामा स्वागत मन्तब्य उपाध्यक्ष टिकाराम मानन्धरले राखेका थिए । संस्थाको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रतिबेदन सचिब दिपा मानन्धरले आर्थिक प्रतिबेदन कोषाध्यक्ष नवराज मानन्धरले र लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन बुद्धकाजी मानन्धरले सभामा प्रस्तुत गरेका थिए । संस्थाको कुल शेयर पूजीं ९७ लाख २७ हजार, बचत संकलन ८ करोड २६ लाख ५८ हजार, कर्जा लागनी ७ करोड २८ लाख ९० हजार रहेको जनाएको छ । सभामा संस्थाका उत्कृष्ट बचत–कर्ता, शेयर सदस्य, ऋणी, बालबचत कर्ता, जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो । 
बासडोल बहुउद्देश्यीय सहकारीको २० औँ साधारण सभा अध्यक्षमा आशिष 
             बनेपा/बासडोल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २० औँ वार्षिक साधारण सभा भएको छ । 
           सभाले संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, लाभांश वितरण र आगामी कार्यदिशा पारित गर्नुका साथै आशिष शर्मा वाग्लेको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको छ । संस्थाको उपाध्यक्षमा राजन थापा, सचिवमा पुजा हमाल कोषाध्यक्षमा शान्ता थापा चयन भएका छन् । त्यस्तैगरी सञ्चालक सदस्यहरूमा कल्पना कुँवर, श्यामबहादुर भुजेल, मनकुमार भुजेल, प्रल्हाद सत्याल र गीता दाहाल चयन भएका छन् । प्रदीप खड्काको संयोजकत्वमा गठित तीन सदस्यीय लेखा सुपरीवेक्षण समितिको सदस्यमा राम बिक्रम खड्का र लक्ष्मी खड्का चयन भएका छन् । संस्थाको नाफाका आधारमा शेयर सदस्यहरूलाई ४.४८ प्रतिशत शेयर लाभांश र ५.३१ प्रतिशत संरक्षित पुँजी फिर्ता कोष वितरण गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ । कार्यक्रममा सहकारीमा वित्तीय अनुशासन र उत्कृष्ट योगदान पु¥याउने सदस्यहरूलाई सम्मान गरिएको छ । नियमित बचतकर्ता, उत्कृष्ट शेयर सदस्य, असल ऋणी तथा बाल बचतकर्ताहरूलाई नगद, माला र सम्मानपत्रसहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष आशिष शर्मा वाग्लेले संस्थाले बचत तथा ऋणको कारोबारमा मात्र सीमित नभई सदस्यहरूको हितका लागि आर्थिक तथा सामाजिक क्षेत्रमा समेत काम गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम सञ्चालन संस्थाका सचिव रामकृष्ण कुँवरले गरेका थिए  । 
बनेपा साकोसको २७ औ वार्षिक साधारण सभा 
          बनेपा/बनेपा बचत तथा ऋण सहकारी संस्थाको २७ औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष रहदेब पोटेको सभापतित्वमा तथा जिल्ला सहकारी सघं लिका अध्यक्ष अमन पोटेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
           सभामा स्वागत मन्तब्य उपाध्यक्ष पदम सुन्दर श्रेष्ठले राखेका थिए भने संस्थाको वार्षिक प्रतिबेदन सचिब जितेन्द्र नकर्मीले आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुविन मानन्धरले लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक जगदिप पलाञ्चोकेले सभामा प्रस्तुत गरेका थिए । संस्थाको कुल शेयर पूजीं २ करोड १७ लाख ९६ हजार, बचत सकंलन २३ करोड ४४ लाख ७८ हजार, ऋण लगानी १८ करोड ६० लाख २५ हजार र  आम्दानी २ करोड २८ लाख ८२ हजार रहेको जनाएको छ । 
कार्यक्रममा प्रमुख अतिथी अमन पोटेले सहकारीहरु ऐन कानुन र नियमानुसर सञ्चालनमा रहेका कुनै पनि समस्यामा नरहेको बताए । सहकारीहरुले अव उत्पादन क्षेत्रमा लगानी बढाई रोजगारको सृजना गर्नु पर्ने बताए । सहकारीमा सदस्यहरुको विश्वासलाई कायम राखी लगानी गर्न सुझाब दिएका थिए । कार्यक्रममा सल्लाहकार राजु सरकार, राजन भालु लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा उत्कृष्ट बचत कर्ता, ऋणी,  जेष्ठ सदस्य, बाल बचत कर्ताहरुलाई सम्मान गरिएको थियो ।