धुलिखेल/कृषि ज्ञान केन्द्र धुलिखेलले रैथाने बालीहरुको प्रर्वद्धन गर्न काभ्रे र सिन्धुपाल्चोकमा कृषकहरुको समुह गठन गरी कार्य शुरु गरेको छ ।
पुराना रैथाने प्रजातिका बालीहरु लोप हुँदै गएकाले प्रदेश ३ र ४ का केहि जिल्लामा उक्त अभियान शुरु गरिएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रकी प्रमुख सवनम शिवाकोटीले बताईन् । केन्द्रले पहिलो चरणमा कोदो, फापर, जौ, लट्टे, जुनेलो, कागुनो, उवा र चिनो लगायतका बालीहरुलाई प्राथमिकता दिएको छ । उत्पादन मात्रै नभई विक्री र उत्पादकत्वा बढाउन विशेष कार्यक्रम सहित अभियान शुरु गरिएको शिवाकोटीले बताईन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र काभ्रेको मण्डनदेउपुर नगरपालिका र चौरीदेउराली गाउँपालिकामा कृषक समुह गठन गरी कम्तिमा २० रोपनी क्षेत्रफलमा उक्त बालीहरुको खेति गरिनेछ । कार्यक्रममा कृषकहरुका साथै कृषकहरुले विक्री गर्न सक्ने पारखीहरुकोमा पु¥याउन होमस्टेलाई समेत सँगै राखेर छलफल गरिएको छ । होमस्टे कार्यक्रम मार्फत यस्ता बालीहरुको प्रयोगमा सहजता हुनेछ भने लोप हुन लागेका रैथाने बालीहरुको उत्पादनमा समेत सहयोग पुग्नेछ । अभिमुखिकरण तथा अन्र्तक्रिया कार्यक्रममा सिन्धुपाल्चोक र काभ्रेका कृषक समुह, होमस्टे ब्यवसायी तथा स्थानीय सरकारका कृषि शाखा हेर्ने प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा ज्ञान विकास केन्द्रका प्रमुख कृष्णभद्र अधिकारीले चालु वर्षमा गरिने कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।





