पाँचखाल/२५ वर्ष सम्म स्टेशनरी अर्थात बुक्स एण्ड स्टेशनरीको ब्यवसाय संचालन गर्दै आएका पाँचखाल नगरपालिका वडा नम्वर ४ तामाघाट (मसला बाली विकास केन्द्र अगाडी) का नविन प्रकाश निरौलाले लकडाउन पछि ब्यवसाय बदलेका छन् । स्टेशनरीलाई कम प्राथमिकतामा राखी निरौलाले वार्सा क्याफे एण्ड बेकरी शुभारम्भ गरेका छन् ।
‘लकडाउन धेरैका लागि घाटा भयो, मैले त्यसको सदुपयोग गर्दै क्याफे र बेकरी उद्योग स्थापना गरें’– निरौलाले भन्नुभयो–‘बुबाले शुरु गर्नु भएको ब्यवसायलाई निरन्तरता दिदै थप बेकरी र क्याफेको काम शुरु गरें । जसबाट घर परिवारका सदस्य बाहेक ५ जनाले रोजगारी समेत प्राप्त गरेका छन् ।’ क्याफेमा कफिका विभिन्न प्रकारका साथै बेकरी उपलब्ध छ । पाँचखाल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका निरौला सामाजिक क्षेत्रमा कृयाशिल छन् । अरनिको राजमार्गको पाँचखाल बजार क्षेत्रमा गुणस्तरीय र आरामदायी पुर्वक बस्न मिल्ने क्याफे र बेकरीका रुपमा बार्साको स्थापना गरिएको उहाँले बताउनु भयो । अखाद्य रुपमा प्रयोग हुने गुनासो गरिरहेका उपभोक्ताहरुको मागलाई समेत नयाँ खोलिएको बार्साले सम्बोधन गर्ने उहाँले बताउनु भयो । ‘हामी गुणस्तरीय बेकरी र कफि उपलब्ध गराउँछौ’–निरौलाले भन्नुभयो–‘कफि सपमा बुक अध्ययनको ब्यवस्था गरिएको छ । जसले किताबका पारखीहरुको चाहना पूरा गर्नेछ ।’
बुबा स्व.बलप्रकाश निरौला सर्वगमंगला माध्यमिक विद्यालयमा अंग्रेजी विषयको शिक्षक हुँदा पाँचखालको तामाघाटमा न्यू सरस्वती बुक्स एण्ड स्टेशनरी पसलको स्थापना गर्नु भएको थियो । सोहि बुक्स पसललाई निरन्तरता दिदै गुणस्तरीय खानेकुरा उपलब्ध गराउने उद्देश्यले रेस्टरुम सहितको फास्टफुड क्याफे खोलेको बताउनु भयो । उत्पादित सबै सामाग्री शो रुमबाट विक्री गरिनेछ । पाँचखाल बजारमा छिट्टै अर्काे क्यफे शुभारम्भ गर्ने योजना रहेको बताउँदै निरौलाले मण्डनदेउपुर नगरपालिकाको कुन्ताबजारमा पनि शो रुम शुरु गर्ने योजना बनाएका छन् । २५ लाख लगानीमा रहेको उक्त क्याफे पुष २० गतेबाट शुरु भएको छ ।





