पनौती/नियात्राकार, कवि एवं समिक्षक प्रदीप सापकोटाको नियात्रा संग्र्रह ‘यात्राका इन्द्रेणी रङ्ग’ को शुक्रबार लोकार्पण भएको छ ।
पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपाने, बरिष्ठ साहित्यकारद्वय मोहन दुवाल र ओम श्रेष्ठले संयुक्त रुपमा नियात्रा संग्र्रहको लोकार्पण गर्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख न्यौपानेले नगरपालिकाले विकास निर्माणका साथै साहित्य, कला, संस्कृतिको क्षेत्रमा समेत काम सुरु गरेको बताउनुभयो । न्यौपानेले आगामी विकाससँगै संस्कृतिक संरक्षणमा र साहित्यमा सहयोग प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बरिष्ठ साहित्यकार मोहन दुवालले काभ्रे साहित्यकार, कवि, गायक जन्माउने जिल्ला रहेको बताउनुभयो । कार्यक्रममा बरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले सापकोटाले पहिलो कृतिको रुपमा आएको नियात्रा संग्र्रह ल्याएपनि त्यसमा अब्बल नियात्रामा हुनुपर्ने गुणहरु रहेकोले अत्यन्तै सम्भावना बोकेका नियात्राकारको रुपमा प्रदिप स्थापित हुन सक्ने बताउनुभयो । बरिष्ठ नियात्राकार जय छ्याङछाले पुस्तकमा लेखकको निजात्मक शैलीमा इमानदार भएर पोखिनु भएको बताउनु भयो । सह–प्राध्यापक कवि डा.विदुर चालिसेले नियात्रा खारिएका लेखकको भन्दा कम नभएकोले बधाई दिनुभयो । कार्यक्रममा लेखक तथा पत्रकार दीपक सापकोटाले नियात्रा संग्र्रहको बारेमा टिप्पणी गर्दै एउटा नियात्रामा हुनुपर्ने सबैखाले गुण बिमोचित कृतिमा रहेको बताउनुभयो ।
कार्यक्रममा साहित्यकार सूर्यप्रसाद लाकोँजु, चिकित्सक तथा साहित्यकार डा. सुमनराज ताम्राकार, कथाकार दिनमान गुर्मछान, पनौती नगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारीले कृतिका बारेमा मन्तब्य राख्नुभएको थियो । कवि नरेन्द्र कुमार नगरकोटिको संचालनमा सम्पन्न उक्त कार्यक्रममा बिमोचित कृतिका नियात्राकार प्रदीप सापकोटाले यात्राको क्रमका केही रोचक घटना सहित आफ्ना अनुभूतिहरु सुनाउनु भएको थियो । उक्त पुस्तक शाब्दिक बुक्सले प्रकाशन गरेको जनाएको छ ।





