बनेपा/सौन्दर्यकला ब्यवसायी संघ नेपाल काभ्रेले जिल्लामा कार्यरत ब्युटिसियनहरु बीच प्रतिस्पर्धा गराएको छ । प्रतिस्पर्धामा सहभागी दुई दर्जन सौन्दर्यकर्मीहरुबाट सोफिया प्रजापति प्रथम, एल्बीसा श्रेष्ठ दोश्रो र समृना बस्नेत तेश्रो भएका छन् । विजेताहरुलाई नगद ५ हजार, २ हजार र १ हजार सहित मायाको चिनो र प्रमाणपत्र उपलब्ध गराईएको थियो ।
अध्यक्ष शोभा थापा नकर्मीले सौन्दर्यकला ब्यवसायीहरु बीच सुमधुर सम्वन्ध विस्तार तथा क्षमता अभिबृद्धिका लागि मेहेन्दी प्रतियोगिता आयोजना गरेको बताउनु भयो । संघले पटक–पटक यस्ता प्रतियोगिताहरु आयोजना गरिरहेको बताउँदै कोरोना भाईरस पछि ब्यवसाय संकटमा परेको र ब्यवसायीहरु पलायन हुनु परेको बताउनु भयो । नेपाल उद्योग बाणिज्य संघका कार्यकारी सदस्य सुरकृष्ण बैद्यले विजयी प्रतिस्पर्धीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै स्वरोजगार मुलक पेशा ब्यवसायलाई संरक्षण गर्ने, कर तथा अन्य समस्याहरुलाई समाधानका लागि महासंघबाट पहल गर्ने बताउनु भयो । सबै जिल्लाहरुमा सम्भावित उद्योगहरुको अध्ययन गरी राज्य र नीजि क्षेत्रको पहलमा स्वरोजागर तथा अन्य समृद्ध हुने उद्योगहरु स्थापनाका लागि पहल गर्ने बैद्यले बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले ब्यवसायीहरुको संरक्षणका लागि सबै क्षेत्रले सहकार्य गर्नु पर्ने बताउनु भयो । काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, बनेपा नेपाल पोलिटेक्निक स्कुलका तालिम संयोजक मोहन गजुरेल, सौन्दर्यकला ब्यवसायी संघका केन्द्रिय सदस्य लक्ष्मी श्रेष्ठ, निर्णायक सुनिता सागर र रिना शाक्य, सौन्दर्यकला ब्यवसायी संघका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सचिव सुलोचना तिमल्सिनाले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा सुरकृष्ण बैद्यलाई सम्मान गरिएको थियो ।





