पनौती/पनौती बसपार्क खानेपानी उपभोक्ता समूहको १६ औं वार्षिक साधरण सभाले दिलिपकुमार ताम्राकारको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यक्रममा समूहका अध्यक्ष लक्ष्मी नारायण ताम्राकारले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । ताम्राकारको प्रतिवेदनमा समूहको लागि पक्की भवन निर्माण हुनका साथै कर्मचारी लगायतको आवश्यक व्यवस्थापन तथा विभिन्न नीति नियम निर्माण गरी समूह संस्थागत बनेको उल्लेख थियो । समूहका सचिव हरिप्रसाद तिमल्सिनाले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै समूहले संस्थागत विकास तथा खानेपानी व्यवस्थापनका लागि गरेका विभिन्न कार्यका बारेमा जानकारी दिए । कोषाध्यक्ष हिरालाल आचार्यले कोषको प्रतिवेदन प्रस्तुत गरेका थिए । उपभोक्ता समूहमा बसपार्क क्षेत्रमा १ सय ७९ धारा संचालनमा रहेको र हाल संस्थाको कोषमा १८ लाख ९० हजार रहेको छ । समूहका सल्लाहाकार तुयुकाजी ताम्राकारले खानेपानी जस्तो महत्वपूर्ण बस्तुको गुणस्तरमा ध्यान दिन जरुरी रहेको बताए । मुहान देखि धारासम्म नै गर्नुपर्ने कार्यमा कुनै कमी गर्नु नहुने बताउँदै पनौती बसपार्क क्षेत्रमा समूहले गरेका कार्यको प्रशंसा समेत गरेका थिए । सभामा अन्य सल्लाहकारहरु भैरब प्रसाद बञ्जारा, रामदाश सुवाल, जयराम ताम्राकार, रविन्द्र पसछें तथा कानुनी सल्लाहकार शुरेस ताम्राकार, स्थानीय समाजसेवी शुभद्रा दाहाल लगायतको उपस्थिति रहेको थियो ।
सभामा शुरेस कुमार ताम्राकारको संयोजकत्वमा दिपक तिमल्सिना तथा नवराज सापकोटा रहेको ३ सदस्यीय निर्वाचन समति रहेको थियो । सभाले दिलिपकुमार ताम्राकारको अध्यक्षतामा आगामी ३ वर्षका लागि नयाँ कार्य समितिको चयन गरेको छ । समितिको उपाध्यक्ष, सचिव, सह सचिव, तथा कोषाध्यक्षमा क्रमशः हिरालाल आचार्य, हरि प्रसाद तिमल्सिना, कमल प्रसाद सापकोटा, यज्ञ प्रसाद हुमागाई रहेका छन् । त्यसै गरी सदस्यहरुमा मिठाराम बञ्जारा, यशोदा आचार्य, तेजनारायण पसछेँ, प्रमिला वास्तोला, मोहनकुमार सापकोटा, रमा गौतम निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित समितिका अध्यक्ष दिलिप कुमार ताम्राकारले सम्पूर्ण उपभोक्ताको सुझाव लिएर खानेपानी समूहलाई संचालन गर्ने बताए ।





