पनौती/साविक एकीकृत र अस्मनगर साकोसको एकीकरण पछि स्थापित एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बाह्रौ वार्षिक साधारणसभा सम्पन्न भएकोछ ।
पौष ५ देखी ११ गते सम्म विभिन्न क्लस्टर र सेवाकेन्द्रमा सदस्यको हस्ताक्षर संकलन र राय सुझाव संकलन गरिएको थियो । साधारण सभाको पहिलो दिन पनौती न.पा ९ नं. वडाका वडाध्यक्ष सहकुल हुमागाईले सुन्थान पानी ट्याङकी चोकमा उद्घाटन गर्नु भएको थियो । दोस्रो दिन प्राइम बैक पनौती शाखा प्रमुख तथा सल्लाहकार दिपक शर्माले खरिबोट राधाकृष्णचोकमा र तेस्रो दिन खोपासी हलमा शेयर सदस्य श्यामबहादुर श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । समापन कार्यक्रममा प्रमुख अतिथि पनौती नगरपालिका सहकारी शाखाका अधिकृत मथुरा बजगाईले सहकारीको कार्यसम्पादन व्यवस्थित, संस्था एकीकरण, सेवाकेन्द्रको विस्तार, कोपोमस संचालन गर्दै सदस्यहरुमा उपयोगी बन्दै गएकोमा एकीकृत सहकारीलाई धन्यबाद दिनु भएको थियो । सहकारी संस्थाले निम्न आय भएकाहरुलाई साथ दिँदै अगाडि बढनुपर्ने बजगाईले बताउनु भयो । सहकारी संस्थामा हुन सक्ने संचालन सम्बन्धी जोखिम र सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी जोखिम राम्रोसँग पालना गर्नुपर्ने कुरा व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७६÷०७७ आर्थिक प्रतिबेदन कोषाध्यक्ष भरत राउलले र वार्षिक प्रतिवेदन सचिव रविन भक्त स्याउलाले सभामा प्रस्तुत गर्नुभएको थियो । संस्थाको प्रतिवेदन अनुसार संस्थामा शेयर सदस्य २ हजार ५ सय १ जना, कुल सम्पत्ति २१ करोड, संस्थाको कोषहरु ९० लाख, शेयर पूँजी २ करोड १५ लाख, बचत निक्षेप १४ करोड ६९ लाख र ऋण लगानी ११ करोड १० रहेको छ । साधारण सभाबाट कार्यसमितिको १ वर्ष समय अवधि थप गर्नुका साथै लेखा तथा सुपरिवेक्षण समितिका संयोजकको राजिनामा स्वीकृति र गरी नयाँ लेखा संयोजकको चयन पनि गरिएको थियो । संस्थाले निमुखा बर्गका लागि आयस्तर सुधार हुने खालको कार्यक्रम संचालन गर्ने र उत्पादन मुलक क्षेत्र लगानी बढाउनेका साथ पनौती क्षेत्रकै उत्कृष्ट सहकारीको रुपमा विकास गर्ने लक्ष्य रहेको व्यवस्थापक सविनसुन्दर सैंजूले जानकारी दिनु भएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष तथा नेपाल राष्ट्र बंैकका उपनिर्देशक लक्ष्मीनारायण ताम्राकार, दुबै संस्थाका सल्लाहकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्था एकीकरण भएपछि दुवै संस्थाको अभिलेख तयारी गर्ने र सदस्यको विवरण रुजु गर्ने कार्यमा सहयोग पु¥याउनु भएका प्रशिक्षार्थी कर्मचारी काभ्रे इङलिस मा.वि. कक्षा १२ का विद्यार्थी राज श्रेष्ठलाई नगद पारश्रमिक सहित प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष काजीबहादुर खत्रीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।





