2026 April 23/ 11:47: 31am

    बनेपा/आयुर्वेद पंचकर्म हेल्थ होम एण्ड रिसर्च सेन्टर प्रालीले बनेपामा रहेको योग भवनमा अनुसन्धान, बैज्ञानिक आविष्कार, आधुनिक सुविधा तथा चिकित्सा सेवा प्रणालीहरुको विकाससँगै आयुर्वेद सेवा शुरु गरेको छ । रिसर्च सेन्टरको उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गर्नु भएको छ । 
    रिसर्च सेन्टरको उद्घाटन गर्दै बरिष्ठ उपाध्यक्ष ढकालले आयुर्वेदको प्रयोग आधुनिक विधि पनि भएकाले कोरोना जस्तो महामारीमा पनि आयुर्वेदले गरेको योगदानलाई अझै फराकिलो बनाउँदै आयुर्वेदसँग सम्वन्धित उद्योग तथा त्यसको प्रयोगमा ध्यान दिने बताउनु भयो । ‘कोरोना महामारीमा दुई साता अस्पतालको बसाई पछि घर फर्किए, आधुनिक उपचार पद्दति र आयुर्वेदिक उपचार पद्दति दुबै महत्वपूर्ण छन्’–ढकालले भन्नुभयो–‘रिसर्च सेन्टरसँगको सहकार्यमा धेरै कार्य गर्न सकिन्छ ।’ कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका कार्यकारिणी सदस्य सुरकृष्ण बैद्य, डिबी बस्नेत, पतञ्जली योग समितिका केन्द्रिय सहप्रभारी ललितशंकर योगी, बागमती प्रदेश अध्यक्ष एवं पंचकर्म रिसर्च सेन्टरका अध्यक्ष ग्रुबेन तौजले, आन्तरिक राजश्व कार्यालय काभ्रेका प्रमुख कमलबहादुर राजलवट, पतञ्जली योग समिति काभ्रेका अध्यक्ष दमनकुमार श्रेष्ठ, सचिव प्रकाश कायस्थ, विभिन्न क्षेत्रका ब्यक्तिहरुले आयुर्वेदको महत्व रहेको बताउनु भएको थियो । 
के हुन्छ आयुर्वेद पंचकर्ममा ? 
    आयुर्वेद चिकित्सक सिद्धान्त अनुसार रसायन, बाजीकरण, स्वस्थ प्रबद्र्धन प्रतिरोधात्मक उपचार सेवा प्रदान गर्न, रोगको प्रकृति अनुसार योग तथा ध्यान गराउन, बैकल्पिक चिकित्सा पद्दतिबाट विभिन्न रोगहरुको गुणस्तरीय रुपमा पंचकर्म थेरापिस्टहरु गरि स्वास्थ्य सेवा प्रदान गर्न, पंचकर्म सम्बन्धि पूर्व कर्महरु, प्रधान कर्म लगायतका सेवा प्रदान गर्न, अर्श (पाईल्स), भयन्दर(फिस्टुला) जस्ता समस्याहरु समाधान गर्न, आयुर्वेद औषधी, अन्य अन्य उपभोग सामान तथा खाद्य पदार्थहरु सुपथ मुल्यमा विक्री वितरण गर्ने उद्देश्यले २०६९ सालमा आयुर्वेद पंचकर्म हेल्थ होम एण्ड रिसर्च सेन्टरको स्थापना गरिएको अध्यक्ष ग्रुबेन तौजलेले जानकारी दिनुभयो । सोहि समयमा स्थापना गरिएको रिसर्च सेन्टरले निरन्तरता पाउन नसकिरहेको सन्दर्भमा योग भवनमा पुनः शुभारम्भ गरिएको अध्यक्ष तौजलेले बताउनु भयो ।
    आयुर्वेद चिकित्सक सिद्धान्त अनुसार रसायन, बाजिकरण, स्वस्थ प्रवृद्धन प्रतिरोधात्मक उपचार दक्ष प्रशिक्षक एवं विशेषज्ञहरुबाट प्रदान गरिनेछ । अध्यक्ष तौजलेले पञ्चकर्मका फाईदाहरुका बारेमा जानकारी गराउनु भएको थियो । रिसर्च सेन्टरका कविराज सुमन सत्यालले आयुर्वेद ब्यक्तिको जीवनलाई सहज र सरल बनाउन महत्वपूर्ण हुने बताउनु भयो । 
ढकाल, बैद्य र बस्नेतलाई सम्मान
    आयुर्वेद पंचकर्म हेल्थ होम एण्ड रिसर्च सेन्टर प्राली, पतञ्जली योग समिति काभ्रे, बागमती प्रदेश, भक्तपुर, काठमाडौं र ललितपुर तथा उपत्यका, महानगरका विभिन्न समितिका पदाधिकारीहरुले नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, कार्यकारिणी सदस्य सुरकृष्ण बैद्य र डिबी बस्नेतलाई सम्मान गरेका छन् । त्यस्तै निजामती कर्मचारी भएर पनि आयुर्वेद क्षेत्रमा कृयाशिल भएका आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कमलबहादुर राजलवटलाई सम्मान गरिएको थियो । बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आयुर्वेद पञ्चकर्मको शुरुवात गरेकोमा ग्रुबेन तौजले र संचालकहरुलाई सम्मान गरिएको थियो ।