2026 April 23/ 11:47: 32am

    बनेपा/नव क्षितिज साप्ताहिक र राम्रो सन्देश डट कमका प्रकाशक एवं प्रधान सम्पादक पत्रकार नवराज बजगाईं ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ अन्तर्गत ‘युवा पत्रकारिता सम्मान’बाट सम्मानित हुनुभएको छ । 

बजगाईंलाई शनिबार सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले सम्मान–पत्र प्रदान गर्नुभएको हो । नेपाल पत्रकार महासंघ जिल्लाका पूर्व उपाध्यक्ष तथा प्रेस संगठन नेपालका केन्द्रिय सदस्य समेत रहेका बजगाईंलाई पत्रकारिताको माध्यमबाट समाज परिवर्तनका साथै नेपाली कला क्षेत्रको विकासमा योगदान गरेको भन्दै यो सम्मान प्रदान गरिएको कार्यक्रमका अध्यक्ष माधव राज खरेलले जानकारी दिनु भयो ।
    सम्मानमा सञ्चारमन्त्री गुरुङको प्रमुख आतिथ्यता, बरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुदुर पश्चिम प्रदेशका सांसद रतन थापा, गोकेर्णेश्वर नपाका मेयर सन्तोष चालिसे र राष्ट्रिय गीतका रचनाकार ब्याकुल माईलाको सहभागिता रहेको थियो । शनिबार नै पावर ईन्टरनेशनल मिडियाको प्रस्तुती नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड नेशनल पावर न्यूज म्यूजिक अवार्ड वितरण गरिएको थियो । नेपाली सांगीतिक ईतिहासमा सबैभन्दा धेरै भाषाभाषीका कलाकारहरुको सहभागितामा हरेक बर्ष हुने आएको अवार्डको यो तेश्रो संस्करणको कार्यक्रम हो ।
    कार्यक्रममा राष्ट्रियभाव, गजल, पप, आधुनिक, लोकदोहोरी लगायत विभिन्न भाषा–भाषी गरी जम्मा ५१ विधामा अवार्ड वितरण गरिएको छ । निर्णायकको मत र भोटिङ पद्धतिवाट उत्कृष्ट गीत, श्रष्टा एवं सर्जकहरुलाई छनोट गरिने र उत्कृष्टमा परेका श्रृजना, सर्जक एवं श्रष्टाहरुलाई अवार्ड प्रदान गरिएको कार्यक्रम संयोजक कमला जोशीले वताउनुभयो । कार्यक्रममा अछाम रामारोशन गापाकी उपाध्यक्ष सरस्वती रावल, ओम समाज डेन्टल अस्पतालका डा. सुवास घिमिरे, सान्ताज व्यूटि पार्लरकी शान्ता थापा, सर्वाङ अस्पतालका सुशिल खनाल, गीतकार एवं पत्रकार शान्तिप्रिय, पत्रकार विजय रत्न तुलाधर, नायक श्रीदेव भट्टराई लगायतको पनि सहभागिता रहेको थियो ।