2026 April 23/ 11:47: 57am

    पनौती/नेकपा केन्द्रिय सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज तथा पूर्व मन्त्री गोकुल बास्कोटाले आफ्नै पार्टीको सरकारलाई बदख्वाई गरी सरकारलाई असफल बनाउने खेल पार्टी भित्रैबाट भएकाले विस्कुन छरेर आफै सोहोर्नु पर्ने अवस्था सिर्जना नगर्न नेताहरुलाई चेतावनी दिनु भएको छ । 
    काभ्रेको पनौती नगरपालिकाले वडा नम्वर १२ साविक भूमेडाँडा गाविसमा आयोजना गरेको भैसी संरक्षण र सम्वद्र्धन कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं नेकपा केन्द्रिय सदस्य बास्कोटाले कालापानीको विषय उठाए बापत केपी ओली नेतृत्वको सरकार दण्डित हुनु परेको बताउनु भयो । ‘केपी ओली नेतृत्वको सरकारले कालापानीको भूभाग फिर्ता ल्याउने प्रयास शुरु ग¥यो, सोहि भूभाग समेटिएको नक्सा जारी ग¥यो, नाकाबन्दीमा पनि भारतिय अवरोध छिचोल्यो त्यसकै बदलामा नक्सा जारी भएकै दिन देखि सरकार ढाल्ने षढयन्त्र पार्टी भित्रैबाट शुरु भयो’–नेकपा केन्द्रिय सदस्य बास्कोटाले भन्नुभयो–‘१५ वर्ष माधव नेपाल, ३२ वर्ष पुष्पकमल दाहाल पार्टी र सरकारको नेतृत्व दुबैमा रहनु भयो, तपाईहरु नेतृत्वमा हुँदा के के गर्नु भयो ? सम्झना गर्न आग्रह गर्दछु ।’ बास्कोटाले देशको भविश्य माथी खेलवाड नगर्न नेकपाका नेताहरुलाई चेतावनी दिनु भयो । 
    ‘पार्टी फुटाएर जनताको बीचमा आउने नेताहरुले कस्तो भिक्षा पाउलान् ?’–नेता बास्कोटाले भन्नुभयो–‘पार्टी मिल्दा त दुई तिहाई प्राप्त हुन सकेन अलग अलग पार्टी बनाएर जनताको बीचमा आउँदा कमण्डलु बोकेर अलोक अलोक भन्नु बाहेक अरु केहि रहँदैन ।’ पदका लागि पार्टी फुटाएर जनताका बीचमा निर्वाचनको समयमा गरेको बाचा नर्विसन आग्रह गर्दै नेता बास्कोटाले नेता शासक र जनता तथा कार्यकता दास नभएकाले त्यसको हिसाव किताव हुने चेतावनी दिनु भयो । ‘पार्टी फुटाउन खोज्नेहरु पराजित हुन्छन, खरानीको लोभले घर जलाउन खोज्नेहरु सकिनेछन्’–नेता बास्कोटाले भन्नुभयो–‘माधव नेपाल प्रधानमन्त्री हुँदा केपी ओलीले राजिनमा माग्नु भयो कि ? राजिनामा दिनु हुँदैन भन्नु भयो ? हेक्का राख्न चुनौती दिन्छु ।’ 
    ‘४५ वटा आयोग तथा अन्य स्थानमा नियुक्ति गर्न सरकारलाई तीन वर्ष सम्म नदिने अनि अध्यादेश मार्फत सरकारले काम गर्न खोज्दा सभामुखले राजनीति गर्ने ?’–नेता बास्कोटाले भन्नुभयो–‘राजनीति गर्ने भए सभामुख छाडेर आउनुस, सभामुख पद राजनीति गर्न होईन संसद चलाउन मात्रै हो ।’ हलो अड्काएर गोरु पड्काउने काम बन्द गर्न पार्टीका नेताहरुलाई बास्कोटाले चेतावनी दिनु भयो । काभ्रेपलाञ्चोक जिल्ला कृषि र पशुपालनमा अग्रणी रहेकाले ब्यवसायीक फर्म संचालन गर्न तर अनुदान प्राप्त गर्ने नाममा दुरुपयोग हुन नदिन र कृषि यन्त्रको वितरण प्रणालीको नीतिमै समस्या रहेकाले परिवर्तन गर्न नेता बास्कोटाले अनुरोध गर्नु भयो । कार्यक्रममा संविधान सभा सदस्य रामहरी सुवेदी, प्रदेश सभा सदस्यहरु बसुन्धरा हुमागाई, चन्द्र लामा, पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, पशु सेवा विभागका निर्देशक डा. लोकनाथ पौडेल, बागमती प्रदेशका डा. रामप्रकाश प्रधान, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, पनौती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद वाग्ले, बरिष्ठ प्रशासकिय अधिकृत ईन्द्रप्रसाद अधिकारी, कृषि तथा पशुपन्छी शाखाका प्रमुख मणिप्रसाद सापकोटा, वडा अध्यक्ष इश्वर जंगम लगायतले सरकारले लिएको समृद्ध नेपालीको नारा आत्मसात गर्दै पनौती नगरपालिकाको वडा नम्वर १, २ र १२ लाइ भैसी पालनको पकेट क्षेत्र घोषणा गरी नागरिकहरुलाई आर्थिक उपार्जनमा सहयोग पु¥याएको बताउनु भयो । 
    तीन तहकै सरकारले गर्ने हरेक गतिविधिहरुले नगरका नागरिकहरुलाई समृद्ध बनाउने सहभागिहरुले बताए । सोहि अवसरमा नगरपालिकाले पनौतीलाई कृषि तथा पशुपालन र धार्मिक पर्यटनको माध्यमबाट नागरिकहरुलाई समृद्ध बनाउने बताईएको थियो ।