धुलिखेल/धुलिखेल उद्योग बाणिज्य संघले उद्योग बाणिज्य संघ बागमती प्रदेशको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका संघका पुर्व अध्यक्ष एवं निवर्तमान केन्द्रिय सदस्य दिलसुन्दर श्रेष्ठको उम्मेदवारीका बारेमा जानकारी गराएको छ ।
अध्यक्ष मञ्जुकुमार कोँजुको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उम्मेदवार दिलसुन्दर श्रेष्ठले प्रदेश भित्रका उद्योगी ब्यसायीहरुको हितका लागि आफ्नो उम्मेदवारी भएको बताउनु भयो । बागमती प्रदेशका २४ सदस्यहरु मध्ये २० जनाले मतदान गर्न पाउने छन् । उम्मेदवार दिलसुन्दर श्रेष्ठले लामो समय देखि उद्योगी ब्यवसायीको क्षेत्रमा काम गरिरहेको अनुभवका आधारमा निर्विरोध हुन सक्ने सम्भावना रहेको बताउनु भयो । बागमती प्रदेश महासंघलाई सफल र समृद्ध प्रादेशिक महासंघको रुपमा स्थापित गर्दै प्रदेश भित्र आवद्ध सम्पूर्ण जिल्ला नगर संघहरुलाई सवल, सक्षम र समृद्ध बनाउने उदेश्यका साथ उम्मेदवारी दर्ता गरेको उम्मेदवार दिलसुन्दर श्रेष्ठले बताउनु भयो । कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले उद्योगी ब्यवसायीहरुको हितका लागि काम गर्ने बताउनु भयो ।
कार्यक्रममा काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, धुलिखेल उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष सुवासकाजी श्रेष्ठ, महासचिव कोमलसुन्दर श्रेष्ठ लगायतले मन्तब्य राख्नु भएको थियो । सोहि कार्यक्रममा उद्योगी ब्यवसायीहरुका समस्या र समाधानका लागि भएका प्रयासका बारेमा छलफल भएको थियो ।





