धुलिखेल/शान्ति जनआदर्श सेवा केन्द्र र सिआरएस नेपालको साझेदारीमा जिल्लाको पनौती नगरपालिका, तेमाल र रोशी गाउँपालिकामा काभ्रे रिकभरी एण्ड रिलायन्स प्रोजेक्ट परियोजना संचालन हुने भएको छ । परियोजनाका बारेमा धुलिखेलमा आयोजित एक कार्यक्रममा पालिकाका प्रमुख एवं प्रतिनिधिहरु र सरोकारवाला निकायले कार्यक्रम सम्पन्न गर्ने सन्दर्भमा सुझाव प्रस्तुत गरेका थिए ।
अध्यक्ष शंखबुद्ध लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले आयोजना सम्पन्न गर्न पालिकाको तर्फबाट समन्वय र सहकार्य गर्ने गरी सिफारिस नभई निर्णय गर्ने अधिकार स्थानीय सरकारलाई रहनु पर्ने बताउनु भयो । रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले रोशी गाउँपालिका भित्र रहेका अति विपन्न परिवारका लागि पुनर्निर्माणमा सहयोग गर्न र खानेपानी आयोजना संचालनका लागि आवश्यक समन्वय र सहकार्य गर्ने बताउनु भयो । तेमाल गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले तेमाल सुख्खा क्षेत्रमा खानेपानी आयोजना संचालनले नागरिकहरुलाई थप सहजता हुने बताउनु भयो ।
पुनर्निर्माणका सन्दर्भमा जिल्ला आयोजना कार्यान्वन इकाई(आवास)का प्रमुख सच्युतराज उप्रेति, भवनका इन्जिनियर प्रदिप बस्नेत, जिल्ला समन्वय अधिकारी लगायतले पुनर्निमार्णको कार्य सममयै सम्पन्न हुनु पर्ने बताउनु भयो । परियोजना अन्र्तगत अतिविपन्न वर्गका घर परिवारलाई आवास निर्माण तथा प्रवलिकरण गर्न सहयोग गर्ने र भुकम्पबाट क्षतिग्रस्त खानेपानी योजनाहरुको मर्मत सम्भार गर्ने लक्ष्य रहेको अध्यक्ष शंखबुद्ध लामाले बताउनु भयो । अन्र्तक्रिया कार्यक्रममा सचिव राजेन्द्रप्रसाद अधिकारी, कार्यक्रम अधिकृत हेमराज विमली, सिआरएस रमेश अधिकारी लगायतले जानकारी गराउनु भएको थियो । यसअघि शान्ति जनआर्दश सेवा केन्द्रले भुकम्प पछि पुर्ननिर्माणमा विभिन्न स्थानमा सहयोग गरिरहेको छ । कृषि र पशुधनमा आधारित जिविकोपार्जन तालिम संचालन गरी विभिन्न कार्यक्रम सम्पन्न गरेको अध्यक्ष शंखबुद्ध लामाले बताउनु भयो ।
परियोजना २०२० सेप्टेम्वर देखि २०२१ जुनसम्म संचालन हुनेछ । १६ करोड १९ लाख ८८ हजार २ सय ७० रुपैयाको कार्यक्रम समयमै सम्पन्न गर्ने अध्यक्ष लामाले बताउनु भयो ।





