धुलिखेल/मानव कल्याण समाजले उद्धार गरेको सात महिना अघि झाडीमा भेटिएकी बालिकाको अन्नप्रशान गरिएको छ । नमोबुद्ध नगरपालिका काभ्रेका प्रमुख टिपी शर्मा तिमल्सिनाले मानवीको अभिभावकत्व ग्रहण गरेका थिए ।
मानवीको अभिभावकत्वसँगै उनको अन्नप्रासनसमेत शनिबार सम्पन्न गरिएको छ । नमोबुद्ध नगरका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले यसअघि ६ जना बालबालिकाको शिक्षादीक्षाका लागि अभिभावकत्व ग्रहण गरिसकेका छन् ।
धुलिखेलस्थित मानव कल्याण समाजले सञ्चालन गरेको सेवा घरमा मानवीको अन्नप्राशन गरिएको हो । सिन्धुपाल्चोकको एउटा झाडीमा फालिएको अवस्थामा स्थानीय शिक्षकहरुले मानवीलाई भेटेका थिए । मानवीको अन्नप्रासनका लागि नगर प्रमुख तिमल्सिना श्रीमती सरस्वती तिमल्सिनासहित उपस्थित भएका थिए । तिमल्सिना दम्पतीले मानवीको मामाघरको हजुरबुबा÷हजुरआमाको रुपमा अभिभावकत्व ग्रहण गरेका छन् । नगर प्रमुख तिमल्सिनाले समाजका लागि सेवा घर निर्माण गर्न नमोबुद्ध नगरपालिकाभित्र आवश्यक जग्गा उपलबध गराउने घोषणासमेत गरेका छन् ।
कार्यक्रमकै अवसरमा नमोबुद्ध नगरपालिका र मानव कल्याण समाजबीच सहयोग आदानप्रदानबारे सम्झौतासमेत भएको छ । सम्झौताअनुसार समाजले सडकमा रहेका बेवारिसे मानिसको उद्धार गर्नेछ भने सम्भव भएकालाई परिवारमा पुनस्र्थापनाको काम गर्नेछ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र समाजकी अध्यक्ष सुमित्रा चौलागाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा पाँचखाल नगरपालिकाकी उपप्रमुख लक्ष्मी दनुवारले सडकमानव मुक्त नेपालको अभियानमा आफू र पाँचखाल नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले मानवीका लागि आगामी दिनमा पनि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले सडक मानव मुक्त नेपाल निर्माणका लागि अघि बढेको मानव कल्याण समाजसँगको सहकार्यलाई समेत नगरपालिकाले प्राथमिकता दिने बताए ।
कार्यक्रममा नमोबुद्ध नगरपालिका युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनाल, विभिन्न सामाजिक अभियन्ताहरुले सडकमानव मुक्त नेपाल निर्माणको अभियानको प्रशंसा गर्दै अभियानको सफलताका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए । कार्यक्रममा बेवारिसे मानिसको उद्धार तथा पुनस्र्थापनामा सहयोग गर्ने, सेवाघर सञ्चालनका लागि सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो ।
बेवारिसे मानिसहरुको उद्धार गर्दै आइरहेको मानव कल्याण समाजले भक्तपुर, काभ्रेको धुलिखेल र दाङ गरी तीन ठाउँमा सेवा घर सञ्चालन गर्दै आइरहेको छ ।





