2026 April 23/ 10:17: 35am

भकुण्डेबेशी/नमोबुद्ध नगपालिकाभित्र रहेका युवाहरुलाई लक्षित गर्दै सहुलियत पूर्ण कर्जा प्रवाह गर्नेबारे अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नमोबुद्ध नगर युवा परिषद्को आयोजनामा नगरपालिकाभित्र रहेका बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखहरुसँग उक्त कार्यक्रमको आयोजना राखिएको थियो । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिका भित्र युवाहरुको उद्यमशिलता रोजगारीका लागि सहुलियतपूर्ण कर्जा प्रवाहलाई सहज बनाउन बैंकका शाखा प्रमुखहरुलाई तिमल्सिनाले आग्रह गर्नु भएको थियो । सहुलितयपूर्ण कर्जा प्रवाह र त्यसको उपयोगिताबारे अनुगमन गर्ने तथा युवाहरुलाई वित्तीय साक्षरता, उद्यमशिलता र सीप विकासका तालिमहरु युवा परिषद्मार्फत आयोजना गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो  । 
कार्यक्रममा नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनालले सहुलियत पूर्ण कर्जा प्रवाह र वित्तीय साक्षरताका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखहरुले कार्य विधिअनुसार सहुलियतपूर्ण कर्जा प्रवाहलाई थप सहज बनाउने प्रतिबद्धता व्यक्त गर्दै अनुगमनका निम्ति नगरपालिकाको विशेष भूमिका रहने अपेक्षा व्यक्त भएको थियो । त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सहुलियतपूर्ण कर्जा प्रवाहलाई प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक समन्वय गर्नु पर्ने बताउनु भयो । 
नगर युवा परिषद्का सदस्यको  सपथ ग्रहण
नमोबुद्ध नगर युवा परिषद्मा मनोनित सदस्यहरुको सपथ ग्रहण सम्पन्न भएको छ । नगरप्रमुख एवं नगर युवा परिषदका अध्यक्ष टिपी शर्मा तिमल्सिनाले परिषदका सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । नमोबुद्ध नगर युवा परिषदको कार्यविधि अनुसार १३ जना विभिन्न क्षेत्रबाट परिषदको सदस्यमा मनोनित भएका थिए । सपथ ग्रहण गराउँदै नगर प्रमुख तिमल्सिनाले युवाहरुसँग साझेदारी गर्दै समृद्ध नगर निर्माणको अभियानमा लागिरहेको र आगामी दिनमा पनि युवाहरुको सहकार्य र खबरदारी जरुरी रहेको बताउनु भयो । कार्यक्रममा नमोबुद्ध नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बुद्धसिं तामाङ, वडा नं १० का वडा अध्यक्ष रामकृष्ण अधिकारी, वडा नं ११ का वडा अध्यक्ष कृष्णवहादुर तामाङ, युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनाल लगायतले युवाहरुको शसक्तिकरणमा नगरपालिकाले सधैं सक्रिय भूमिका खेल्ने प्रतिबद्धतासहित परिषद्का सदस्यहरुलाई शुभकामना व्यक्त गर्नु भएको थियो  ।