2026 April 23/ 09:09: 52am

विकास तिमल्सिना/महाभारत, 
काभ्रेको दुर्गम क्षेत्रमा पर्ने महाभारत गाउँपालिका–५, चारकिल्लामा सुविधा सम्पन्न विद्यालय निर्माण भएको छ । वि.सं.२०७२ सालको विनाशकारी भुकम्पका कारण क्षतिग्रस्त श्री ग्रामोन्नती माध्यामिक विद्यालयको निर्माण सम्पन्न भएको हो । एशियाली विकास बैंक र नेपाल सरकारको करिव १० करोड ३१ लाख रुपैयाँ लागतमा निर्माण भएको विद्यायको उद्घाटन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शुशिल ज्ञवलीले गनर््भएको थियो  ।
 २१ कोठा सहितका दुई वटा भवन वालमैत्री, अपांगमैत्री र प्रविधिमैत्री छन । उक्त विद्यालयमा हाल ५सय ४२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा छात्रावासको व्यवस्था गर्न नसक्दा अहिले पनि ३ घण्टा हिँडेर विद्यालय आउनु्पर्ने विद्यार्थीको बाध्यता रहेको प्रधानाध्यापक राम बहादुर वाइवाले जानकारी दिनुभयो । महाभारत गाउँपालिकामा हालसम्म एउटा पनि उच्च माध्यामिक विद्यालय छैन । उच्च शिक्षाका लागि यस क्षेत्रका मानिसहरु धुलिखेल, बनेपा, काठमाण्डौं आउने गर्दछन् । काभ्रे जिल्लामा ५सय ८७ वटा सामुदायिक विद्यालय छन् । जसमध्ये ९० प्रतिशत विद्यालयको पुनःनिर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा काभ्रेका प्रमुख देव कुमार बरालले बताउनुभयो । यो वर्ष विद्यालय पुनःनिर्माण सक्ने गरी काम गरिरहेको उहाँको भनाई थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवलीले सुविधा सम्पन्न विद्यालय निर्माण सँगै अब शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । ज्ञवालिले  सरकारले तोकेका मापदण्ड पालना गरी पुनःनिर्माण सम्पन्न गर्न पनि आग्रह गर्नुभएको छ । कार्यक्रममा वागमती प्रदेशसभा सदस्य रत्न ढकालले भौगोलिक कारण यस क्षेत्रमा पुनःनिर्माणको काममा केहि ढिला भएपनि पछिल्लो समय भने तिव्रता पाएको बताउनुभयो । महाभारत गाउँपालिकामा उच्च शिक्षा हासिल गर्न नसक्ने अहिलेको अवस्थाको अन्त्य छिट्टै गर्ने बताउनुभएको छ । दुर्गम वस्तीलाई सरकारले चिनेको बताउँदै ढकालले तीनै तहका सरकारले उल्लेख्य काम गरेको उहाँको दाबी थियो । केहि मानिसहरुले भ्रमको खेती गर्ने प्रयास गरेपनि कामका हिसवाले आफुहरु सफल भएको पनि सांसद ढकालको भनाई थियो । नेकपाको सरकारले जनअभिमतको सम्मान गर्ने उहाँको भनाई थियो । यस्तै गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले  गाउँपालिकाभित्रका अन्य विद्यालयमा पनि विद्यार्थीको चाप अत्याधिक भएको तर भौतिक पुर्वाधारको कमी रहेकाले सकेसम्म छिटो सुविधासम्पन्न विद्यालय निर्माणका लागि पहल गर्न प्रमुख कार्यकारी अधिकृत ज्ञवलीलाई आग्रह गर्नुभएको थियो । भुकम्प पिडित जनताको गुनासो तत्काल सम्बोधन गर्न, गुम्बाको पुनःनिर्माणमा विशेष ध्यान दिन पनि प्राधिकरणलाई उहाँको आग्रह थियो । कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटा, सह–सचिव गोपाल प्रसाद अर्याल, केन्द्रिय कायोजना कार्यान्वयन इकाई शिक्षा निर्देशक रामशरण सापकोटा, उप–निर्देशक डाक्टर युवराज पौडेल, जिमाली÷अनुदान व्यवस्थापन काभ्रेका कार्यालय प्रमुख सचित उप्रती, वडा सदस्यहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम ठाडाले गरेका थिए ।