नमोबद्व/नमोबुद्ध नगरपालिका, इसिमोड र सिप्रेडले नगरपालिका भित्र सञ्चालन गरेका कृषि र वातावरणसँग सम्बन्धित कार्यक्रमबारे अनुगमन तथा छलफल गरेको छ ।
नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा राष्ट्रपति कार्यालयका सल्लाहकार लालबाबु यादव, लक्ष्मी कार्की, राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओली, वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली, राष्ट्रपति कार्यालयका स्वकीय सचिव सोम राई, राष्ट्रपति कार्यालयका स्वकीय उपसचिव भवानी कार्की, इसिमोड प्रतिनिधि नन्द अग्रवाल, सिप्रेडका कार्यकारी निर्देशक केशवदत्त जोशी लगायतको सहभागतिामा अनुगमन एवं छलफल सम्पन्न भएको हो ।
उक्त टोलीले नगरपालिकाको वडा नं. ४ जोरसल्ला र वडा नं. ६ मा सञ्चालन गरिएका कार्यक्रमको अनुगमन गरेको थियो । अनुगमनपछि नगरपालिकामा आयोजित कार्यक्रममा वातावरण र कृषि क्षेत्रमा भइरहेका कामकोे समीक्षा गरिनुका साथै आगामी दिनमा गर्नुपर्ने कार्यबारे छलफल भएको थियो । छलफलको क्रममा राष्ट्रपति कार्यालयका सल्लाहकार लालबाबु यादवले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम जस्ता कार्यक्रम तथा राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई नमोबुद्ध नगरपालिकामा पनि सञ्चालन गर्नुपर्ने बताए । यस्ता कार्यक्रमले कृषि क्षेत्रको विकासका साथै वातावरण संरक्षण र जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले नमोबुद्ध नगरपालिकामा सञ्चालन भएको जलवायु अनुकलन कार्यक्रमले वातावरण संरक्षणको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनमा यसको दायरा अझै फराकिलो बनाउनुपर्नेमा जोड दिए । उनले नगरपालिकामा लिफ्ट सिञचाई लगायतका आयोजनाको डिपिआर निर्माण लगायतका कार्यमा राष्ट्रिय योजना आयोगले समेत सहयोग गर्ने बताए । संघीय सरकारका समपुरक योजना समयमै सम्पन्न गरेकोमा उनले नमोबुद्ध नगरपालिकाको प्रशंसासमेत गरे । आगामी दिनमा नवीकरणीय उर्जा, खानेपानी, सिञ्चाइ, वातावरण संरक्षण तथा दीगो फोहोरमैला व्यवस्थापनलाई विशेष प्राथमिकतामा राख्नुपर्ने र आवश्यक सहयोग उनले बताए । उनले नमोबुद्ध नगरपालिका काठमाडौं नजिकै रहको र सुन्दर तथा शान्त पर्यटकीयस्थल भएकाले होमस्टे लगायत पर्यटकीय गतिविधि र पुधर्वाधार निर्माणलाई प्राथमिकतामा राख्न सके छोटो समयका लागि आउने पर्यटकको लागिमेत राम्रो गन्तव्य बन्नसक्ने बताए ।
छलफलमा वन मन्त्रालयका सचिव विश्वनाथ ओलीले नमोबुद्ध नगरपालिका वातावरण संरक्षणको क्षेत्रमा अन्य नगरभन्दा अगाडि रहेको भन्दै जलवायु अनुकुलन कार्यक्रम सञ्चालन हुन लागेका देशका पाँच नगरपालिकामध्ये नमोबुद्ध नगरपालिकालाई प्राथमिकतामा राखिएको बताए । सोही अनुसार नेपाल जलवायु अनुकुलन कार्यक्रमका लागि यो बर्ष एक करोड रुपैयाँ छुट्याइएको र आगामी दनमा कार्यक्रमको प्रभावकारिता हेरेर थप रकम छुट्याइने उनले बताए । छलफलमा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले ठूला खानेपानी आयोजनाका लागि डिपिआर तयार पारिएको जानकारी दिँदै ती आयोजनाका लागि सहयोग गर्न आग्रहसमेत गरे । उनले भु उपयोग नीति बनाउनुका साथै वातावरणसम्वन्धी आवश्यक ऐनहरु तर्जुमा गर्ने प्रतिवद्धतासमेत जनाए ।
छलफलमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले नमोबुद्ध नगरपालिकाले वातावरण संरक्षण, कृषि क्षेत्रको विकास लगायतका क्षेत्रमा गरिरहेको कामबारे जानकारी दिएका थिए । नमोबुद्ध नगरपालिकालाई वातावरण संरक्षणको कार्यक्रममा नगरपालिका उपप्रमुख रामदेवी तामाङ लगायतको समेत सहभागिता रहेको थियो । कार्यक्रम नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले सञ्चालन गरेका थिए ।





