उद्धब प्रसाद अधिकारी/पाचँखाल
पाँचखालमा खेतियोग्य जमिनलाई चक्लाबन्दी आधुनिक ढंगबाट यान्त्रिक तरिकाले खेती गर्नका लागि नगर प्रमुख महेश खरेल खेतीको उद्घाटन गर्नुभएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोनले पाँचखाल नगरपालिका कृषकहरुलाई ७५ प्रतिशत अनुदान दिएर आधुनिक तरिकाको खेती शुरुवात गर्न लागिएको नगर प्रमुख खरेलले बताउनु भयो । आधुनिक तरिकाबाट खेती गर्दा उत्पादनमा बृद्धि हुने खरेलले बताउनु भयो । आधुनिक ढंगको खेतीको लागि चक्लाबन्दि गर्न अति आवश्यक भएकोले उक्त कार्यको शुरुवात गरिएको खरेलले वताउनु भयो ।
पौराणिक तौर तरिकाले खेती गर्दा उत्पादन भन्दा खर्च बढी हुने अवस्था आएर समस्यामा परेका कृषि नगरका कृषकहरु आधुनिक तरिकाले खेती गर्न पाउँदा कृषकहरुलाई धेरै राहत मिलेको बताईएको छ । सुपरजोनको सहायतामा भएको आधुनिक ढंगको खेतीले गर्दा खर्च कम हुने उत्पादन बढी हुने, कृषि मजदुरको अभाव भएको अवस्थामा समेत राहत मिलेको खरेलको भनाई थियो । खरेलले आधुनिक तरिकाले गरिने खेतिको जग्गाको सुधार, सिंचाई, कृषि उपकरण साथै गुणस्तरिय बिउ बिजनको लागि त्रि—पक्षिय ढंगबाट सहलगानीमा खेति गराईने तयारी रहेको समेत बताउनु भयो । चक्लाबन्दी ढंगको कार्य सुरुवातको क्रममा नगरका उपमेयर लक्ष्मी दनुवारले कृषकहरुको हितको खातिर नगरपालिकाले कुनै कन्जुसाई नगर्ने बताउनु भयो ।
कृषकहरुलाई समयमा मलविउ उपलब्ध गराउने, ‘कृषिमा काम गर्ने मजदुर पाउन छाड्यो, पाईए पनि धेरै महंगो श्रम, जसले गर्दा कृषि कर्म गर्दा लगानी धेरै हुने साथै उत्पादनले खर्चमात्रै ठिक हुने अवस्था आएको उप—प्रमुख दनुवारले बताउनु भयो । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन जिल्ला अध्यक्ष एवं पाँचखाल नगरपालिका वडा न २ का वडा अध्यक्ष हरिराम खतिवडाले चक्लाबन्दिको सुरुवातको क्रममा पाँचखालको वडा नं २ मा १०० रोपनी, वडा नं ३ मा १०० रोपनी र वडा नं १२ मा १२० रोपनी जग्गामा कार्य सुरु गरेको बताउनु भयो । काभे्र जिल्लामा १ करोड २० लाख रोपनीमा चक्लाबन्दी ढंगले खेती गराउने परियोजनाको लक्ष्य रहेको खतिवडाले बताउनु भयो । सुरुवातको क्रममा पाँचखालमा तीन स्थानमा कार्यको थालनी भएको र क्रमशः विस्तार गर्दै जाने बताउनुभयो । परियोजनाले स्थानिय तहसँग सम्झौता गरेर अगाडी बढ्ने भएकोले चक्लाबन्दी ढंगको खेति गर्दा परियोजनाले ५० प्रतिशत, स्थानिय तहले २५ प्रतिशत गरी कृषकलाई ७५ प्रतिशत अनुदान दिने बताउनु भयो । नयाँढंगको यान्त्रिकरण ढंगको खेति गराएर कृषकहरुलाई धनी गराउने कार्यमा आधुनिक ढंगले खेती गराउने साथै विउ उत्पादनलाई प्राथमिकता दिने खतिवडाले बताउनु भयो ।





