उद्धब प्रसाद अधिकारी/पाँचखाल
जोरपाटी माध्यमिक विद्यालयको भवन वागमति प्रदेश सांसद् लक्ष्मण लम्सालले उद्घाटन गर्नु भएको छ । २०७२ सालको भुकम्पबाट क्षति भएको विद्यालयको भवन एशियाली विकास बैंक र नेपाल सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन ईकाइ(शिक्षा) मार्फत रु ५ करोड ६ लाख ८८ हजारमा १२ कोठे आधुनिक र अपाङ्गमैत्री शौचालय समेत निर्माण भएको बताईएको थियो । कार्यक्रमका प्रमुख अतिथी सांसद् लम्सालले विद्यालयमा भौतिक सुविधासँगै शिक्षामा गुणस्तर आवश्यक रहेको बताउनु भयो । सामुदायिक विद्यालयमा राज्यको करोडौं लगानी गर्दा पनि गुणस्तर खस्किएको प्रति चिन्ता ब्यक्त गर्नु भएको थियो । शिक्षकहरुलाई तालिम प्रादन गरी प्राविधि अनुसारको शिक्षा प्रदान गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख मन्जु गौतम, पाँचखाल नगरपालिका शिक्षा शाखा अधिकृत उदय कोईराला, लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञवाली, ईन्जिनियर भेषराज पोखरेल, पाँचखाल नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामशरण दलाल, आजाद माध्यमिक विद्यालयका प्रध्यानाध्यापक प्रल्हाद तिमल्सिना, लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रधानाध्यापक बद्रि प्रसाद ढुङ्गनाले विद्यालयको भावी योजना, सञ्चालित कार्यक्रमका बारेमा प्रतिवेदन पेश गर्नु भएको थियो ।
कार्यक्रम विद्यालयका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भोगराज पन्तको सभापतित्वमा सम्पन्न भएको थियो ।





