2026 April 23/ 07:23: 35am

देवी, गणेश र सिंहको मूर्ति प्राण प्रतिस्थापन
    बनेपा, नाला/बनेपा नगरपालिका वडा नम्वर ३ नाला टुसालको प्लट नम्वर २ ठुलो वनमा अवस्थित शुभ चामुण्डा देवीको उद्गम स्थलमा देवीको मुर्ति, गणेश तथा सिहंको मूर्तिमा प्राण प्रतिस्थापन गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले उक्त क्षेत्रमा घटस्थापनाको अवसरमा प्राण प्रतिस्थापन गर्नु भएको हो । 
    शुभ चामुण्डा देवी उद्गम धार्मिक तथा पर्यटन पर्यावरण संरक्षण तथा प्रर्वद्धन समिति, बनेपा नगरपालिका वडा नम्वर ३ टुसालको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले धार्मिक, सांस्कृतिक र पर्यटकिय हिसावले पनि उक्त क्षेत्रको विकास गर्नु पर्ने बताउनु भयो । वडा अध्यक्ष कृष्णप्रसाद दाहालले सोहि क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरी आन्तरिक र बाह्य पर्यटकहरुका लागि आर्कषक स्थल निर्माण गर्ने बताउनु भयो । घटस्थापनाको अवसर पारी विभिन्न क्षेत्रका ब्यक्तिहरुले सोहि स्थानमा दर्शन गर्नु भएको थियो । 
    २०६४ साल असार ८ गते नालाकै विमला श्रेष्ठले सोहि स्थानमा नागदेवी रहेको सपना देख्नु भएको थियो । उहाँको अंगमा नागदेवी रहेको सपना देखेको विमलाले बताउनु भयो । त्यसपछि सोहि स्थानमा गएर विस्तारै पुजाआजा गरे पछि आवतजावत शुरु भएको थियो । अन्य ब्यक्तिहरुले पनि सोहि स्थानमा शुभ चामुण्डा देविको उद्गमस्थल रहेको सपना र विपना दुबैमा देखेकाले त्यस क्षेत्रको विकास र विस्तार गर्नु पर्ने भन्दै स्थानीयहरुले त्यस क्षेत्रमा पुग्ने बाटो निर्माण गरी अन्य पूर्वाधारहरु तयार गर्न लागेको संरक्षण तथा प्रवद्र्धन समितिका संयोजक हरिशरण केसीले जानकारी दिनुभयो । मन्दिरको संरक्षणर प्रर्वद्धनका लागि स्थानीय सरकारले चासो र सक्रियता देखाएको अध्यक्ष कृष्णप्रसाद दाहालले बताउनु भयो ।