2026 April 23/ 07:23: 29am

    बनेपा/युवा बचत तथा ऋण सहकारीको २४ औ वार्षिक उत्सव तथा २२ औं साधारण सभा सहकारीका अध्यक्ष उदयराम कायस्थको अध्यक्षतामा तथा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका प्रथम उपाध्यक्ष इन्द्रप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी अधिकारीले सदस्यहरुलाई चिन्ने र प्रोफाईल तयार गरी सदस्यहरुलाई सन्तुष्टि बनाउने अभियानमा सहकारी लाग्नुपर्ने बताउनु भयो । शुद्ध वासलात तयार गर्ने, सहकारीलाई लाग्ने आरोपहरुबाट मुक्त हुने, क्षमतावान् सदस्यहरुको संख्या बढाउने र सक्रिय गराउने, पुँजीको निर्माण मात्रै होईन पुँजीलाई कार्यान्वयन गर्ने गरी अघि बढ्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिनाले कोभिडका कारण सदस्यहरुको आर्थिक अवस्था खस्किएकाले त्यसलाई सुदृढ बनाउन सहुलियत ऋण, कर्जाको ब्याजमा छुट, सिपमुलक तालिमहरु उपलब्ध गराउनु पर्ने बताउनु भयो । युवा साकोसका अध्यक्ष उदयराम कायश्थले सहकारीले सधै सदस्य केन्द्रित कार्यक्रमहरु गरेकाले कोभिडका बीचमा पनि सदस्यहरुको हितका खातिर विभिन्न कार्यक्रमहरु संचालन गरिएको बताउनु भयो । सभामा सचिव सरोज तिमल्सिनाले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष रामशरण राउतले आर्थिक प्रतिवेदन, लेखा समिति सदस्य श्याम तिमल्सिनाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 
    सहकारी विभागको निर्णयलाई कार्यान्वयन गर्दै कोभिड –१९को स्वास्थ्य मापदण्ड पालना गरी सहकारीको साधारण सभा सम्पन्न गरीएको संस्थाका अध्यक्ष कायस्थले बताउनु भयो । संस्थाले विषम परिस्थितिमा र प्राकृतिक विपतीमा सदस्यहरुलाई आर्थिक कारोबार नियमित र बैज्ञानिक ब्यबस्थापन गर्न कठिन रहेको बताउनु भयो । हरेक संस्था तथा ब्यक्तिले कोरना संक्रमण विरुद्ध लडन सक्ने क्षमता प्राप्त गर्न सबै महाअभियानमा जुटी नेपाल सरकारले निर्देशन गरेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उहाँले बताउनु भयो । संस्थाको आर्थिक वर्ष २०७६÷०७७ मा वार्षिक नीति तथा कार्यक्रम अनुसार बजेट विनियोजन भई कार्य सम्पन्न भएको र विभिन्न समयमा संचालक समितिको बैठक बसी निर्णयहरु कार्यान्वयन गरिएको सचिब सरोज तिमल्सिनाले बताउनु भयो । संस्थाको आर्थिक वर्षमा शेयर पूँजी ४ करोड ३८ लाख ९६ हजार ९ सय, बचत तथा निक्षेप २९ करोड २१ लाख ८१ हजार १ सय ८, ऋण लगानी ३० करोड ३१ लाख ९४ हजार रहेको कोषाध्यक्ष रामशरण राउतले बताउनु भयो । संस्थाले विश्व महामारीका समयमा समेत सदस्यहरुलाई आर्थिक कारोबारलाई मापदण्ड पालना गरी नियमित गरेको ब्यबस्थापक निश्चल सापकोटाले बताउनु भयो । साधारण सभा समेत सोहि मापदण्ड अनुसार सम्पन्न गरिएको ब्यवस्थापक सापकोटाले बताउनु भयो । सहकारीले महामारीका समयमा सदस्यहरुलाई विभिन्न सेवा सुविधा समेत प्रदान गरिएको ब्यबस्थापक सापकोटाले बताउनु भयो ।