पाँचखाल/जग्गा पास गर्न चाहिने निवेदन र लिखत स्थानीय तहबाट नै तयार गर्ने निर्णय गरेपछि काभ्रेमै पहिलो पटक पाँचखाल नगरपलिकामा भू–सेवा केन्द्र स्थापना भएको छ ।
भू–सेवा केन्द्रको नगर प्रमुख महेश खरेलले उद्घाटन गरेका छन् । कार्यक्रममा मालपोत कार्यालय काभ्रेका प्रमुख लोकबहादुर भण्डारी, पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमागाई, मालपोत कार्यालय काभ्रेका सूचना प्रविधि कर्मचारी रामभक्त हुमागाई, नगरका शाखा प्रमुखहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो ।
नगरप्रमुख खरेलले जनताको सेवाको लागि नगर लागिपरेका बताए । जिल्लामा पुगेर झन्झट बेहोर्दै आएका स्थानीयलाई यो केन्द्र स्थापना भएपछि सहयोग पुग्ने उनले बताए । कार्यालय स्थापना भएपछि मालपोत कार्यालयमा व्यक्ति तथा कानुन व्यवसायीमार्फत हुने भू–सेवाको काम स्थानीयतहबाटै हुने भएको हो । काभ्रेमा असोज १ गतेबाट जिल्लाका १३ वटै पालिकाहरु मार्फत भू–सेवा केन्द्र अन्तर्गत निवेदन र लिखतको काम शुरु भएको भए पनि केहि स्थानीय तहमा कर्मचारी अभाव तथा प्राविधिक सामाग्रीको अभावमा भू–सेवा केन्द्र संचालनमा आउन सकेको छैन ।





