पलाञ्चोक/पाँचखाल नगरपालिका वडा नम्वर ९ मा रहेको पलाञ्चोक भगवती मावि चार पिपलमा चारकोठे पक्की भवनको शिलन्यास भएको छ । नगरप्रमुख महेश खरेलले अपाङ्गमैत्री भवनको शिल्यान्यास गरेका थिए ।
कार्यक्रममा पाँचखाल नगरपालिका वडा नम्वर ९ का अध्यक्ष किरण श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उज्वल श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक बेगबहादुर थापा लगायतको सहभागिता रहेको थियो । शिल्यान्यास कार्यक्रममा नगर प्रमुख खरेलले पाँचखालका कुनै पनि बालबालिकालाई शिक्षाबाट बञ्चित नगरिने बताए । जिल्ला आयोजना कार्यान्वयन इकाईको आर्थिक सहयोगमा २ तल्लाको ४ कोठे भवन बन्नेछ । इकाईले भवन बनाउन ७० लाख उपलब्ध गराएको छ । विद्यालयमा शौचालय बनाउन १५ लाख तथा खानेपानीको लागि ८ लाख रुपैयाँ सहयोग गरेको विद्यालयका प्रधानाध्यापक बेगबहादुर थापाले जानकारी दिए । पलाञ्चोक भगवती माविमा अन्य २ वटा भवनको निर्माण कार्य अन्तिम अवस्थामा पुगेको वडा अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए । पाँचखाल नगरपालिकाको ५० लाख सहयोगमा ४ कोठे पक्की भवन तथा चाउ नमस्ते इटालीको ६२ लाख सहयोगमा ६ कोठे पक्की भवन निर्माण सम्पन्न हुन लागेको छ ।





