१ सय कुकुरको बन्ध्याकरण, ४ सयलाई रेविज खोप
धुलिखेल/१४ औं विश्व रेबिज दिवसको अवसरमा धुलिखेल नगरपालिका पशुपंक्षी विकास शाखाको आयोजनामा रेबिज रोग विरुद्ध खोप तथा सामुदायिक कुकुरहरुलाई बन्ध्याकरण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।
असोज ९ गते देखि १३ गतेसम्म सप्ताहव्यापी रुपमा ‘ रेबिजको अन्त्य ः सहकार्य र भ्याक्सिनेशन’ भन्ने नाराका साथ नगर क्षेत्र भित्र रहेका सामुदायिक तथा घरपालुवा जनावरलाई (कुकुर तथा बिरालो ) निःशुल्क रेबिज विरुद्धको खोप लगाउने कार्यक्रम सम्पन्न भएको पशुपंक्षी विकास शाखा प्रमुख पुरुषोतम हुमागाईले जानकारी दिनु भयो । कार्यक्रम अन्र्तगत १ सय वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ भने ४ सय वटालाई रेविजको खोप लगाईएको छ । जसमा ५ वटा विरालोलाई रेविज विरुद्धको खोप लगाईएको थियो ।
धुलिखेल नगरपालिकाले विभिन्न स्थानमा खोप तथा बन्ध्याकरण गरेको थियो । विशेषगरी नगर भित्रका शहरी क्षेत्रमा रहेका सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिएको थियो । सप्ताहको कार्यक्रममा उपप्रमुमख बिमला कुमारी शर्मा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. मोगलपूसाद शाह, धुलिखेल नगरपालिका पशुपंक्षी शाखा प्रमुख पुरुषोतम हुमागाई, नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टरका आनन्द दाहाल, प्राविधिकहरुको सहभागिता रहेको थियो ।





