तीनधारे झरना संरक्षणमा गाउँपालिकाको सक्रियता
होमस्टेका लागि ३० घरलाई अनुदान
रोशी/रोशी गाउँपालिकाले झरना संरक्षणका लागि स्थानीयहरुलाई होमस्टे निर्माणमा अनुदान र अन्य पूर्वाधारका कार्य गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष डिबी लामाको अध्यक्षतामा बसेको बैठकले तीनधारे झरना जाने सडक आसपास तथा सोहि क्षेत्रमा होमस्टे निर्माणका लागि १०÷१० हजार अनुदान दिने निर्णय गरेको छ ।
बैठकले झरनाको संरक्षण, व्यवस्थापन तथा पर्यटन प्रवद्र्धनका लागि वडा न १, २ र ३ को भेला गरी ११ सदस्यीय झरना संरक्षण समिति गठन गर्ने निर्णय गरेको छ । तीन वटै वडाका वडा अध्यक्षको रोहवरमा उक्त समिति बनाएर गाउँपालिकामा पेश गर्न अनुरोध गरिएको छ । होमस्टे व्यवस्थापनका लागि ३० घरलाई प्रति होमस्टे १० हजार अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । होमस्टेका लागि तोकिएको मापदण्ड क्षेत्रगत सन्तुलन व्यक्तिगत तत्परता तथा पर्यटकको सुविधालाई ध्यान दिई तीनवटै वडा कार्यालयका व्यक्तिहरुको नामावली सिफारिस गर्ने निर्णय गरेको छ । तिनधारे झरना जाने भाइचाको घरदेखि भञ्ज्याङसम्म ट्रयाक खोल्ने, भञ्ज्याङमा पार्किङ निर्माण, झरना झर्ने सिंढी र रेलिङ, शौचालय निर्माण, होमस्टे प्रवर्द्धन, झरनाको डिपिआर निर्माण, चुनिङटार खहरे खानेपानीको पाइपको विकल्प व्यवस्थापन, झरना हेर्ने डाँडामा रेलिङ निर्माण, फोहोर व्यवस्थापन, झरनाको सुरक्षा व्यवस्थापनको कार्य तत्काल आरम्भ गर्ने र सो को लागि लाग्ने रकम मध्ये प्रत्येक वडाको लागि विनियोजित रकमबाट ३ लाख कटौती गर्ने र कटौती गर्ने आयोजना वडाले ७ दिन भित्र गाउँपालिकामा पेश गर्ने निर्णय गरिएको कार्यपालिका प्रवक्ता पदमबहादुर लामाले जानकारी दिनुभयो ।
गाउँपालिकाको बैठकले कोभिड १९ को आय व्यय सार्वजनिक गरेको छ । सामाजिक सुरक्षा भत्ता दोस्रो चौमासिक देखि बैंकिङ प्रणाली मार्फत वितरण गर्ने र सोको लागि बैंकसँग सम्झौता गर्ने निर्णय गरेको छ । त्यस्तै जग्गा प्राप्ति ऐन अनुसार लक्ष्मी नारायण मा वि लाई आवश्यक जग्गा साविक शिखरआम्वोटे–८ का जग्गाधनी सुनमाया तामाङको कित्ता नं १११७ र ३९७ को क्षेत्रफल १–११–२–३ को जग्गा खरिदका लागि जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी समक्ष आवश्यक प्रक्रिया अगाडि बढाउन अनुरोध गर्ने निर्णय समेत गरेको छ । रासायनिक मल वितरणको लागि सूचिकृत हुन रोशी गाउँपालिका क्षेत्रमा रहेका सहकारी संस्थाहरुलाई जानकारी गराउने बैठकले निर्णय गरेको छ ।
त्यस्तै गाउँपालिका क्षेत्रमा रहेका युवा उद्यमीहरुका लागि विन्धवासीनि सहकारी संस्था मार्फत व्याज अनुदानमा ऋण लगानी गर्ने जम्मा लाग्ने ११.५५ प्रतिशत व्याज मध्ये गाउँपालिकाबाट ५५ प्रतिशत व्याज अनुदान उपलब्ध गराउने साथै यस कार्यका लागि प्रत्येक वडाबाट कम्तिमा ५ जना युवालाई व्यावसायिक बनाउन प्रचार प्रसार गर्ने निर्णय गरेको छ ।
उद्यम विकासका लागि ब्याज अनुदान
रोशी गाउँपालिकाले गाउँपालिका भित्र रोजगारी सिर्जना गर्न उद्यम विकासको लागि सहुलियतपूर्ण ऋण परिचालन गर्न व्याज अनुदान उपलब्ध गराउने भएको छ । रोशी गाउँपालिका र विन्धबासिनी वचत तथा ऋण सहकारी संस्था लि. काभ्रे बीच व्याज अनुदान कार्यक्रमको सम्झौता भएको छ ।
व्याज अनुदान कार्यक्रमबाट गाउँपालिका भित्रका कम्तिमा ६० जना यूवा उद्यमीहरु लाभान्वीत हुनेछन् । उद्यम गर्न चाहाने यूवाहरुले सहकारी मार्फत सहुलियतपुर्ण व्याजमा प्रति घर धुरी ६ लाख ५० हजार सम्म ऋण प्राप्त गर्न सक्नेछन । उक्त ऋणको वार्षिक व्याजदर ११.५ प्रतिशत कायम हुने र सो को ५ प्रतिशत गाउँपालिकाले, १ प्रतिशत सहकारीले र ५.५ प्रतिशत सम्बन्धित व्यवसायीले व्यहोर्नु पर्ने जानकारी गाउँपालिका अध्यक्ष डि.वि. लामाले दिनुभयो । यो कार्यक्रम स्थानीय स्तरमा रोजगारी सृजना गर्न र कृषि तथा उद्यम विकासको क्षेत्रमा यूवाहरुलाई आकर्षण गर्न ल्याएको नमुना परीक्षण कार्यक्रम भएकोले यसको परीक्षणको आधारमा आगामी दिनमा थप विस्तार गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत डम्बरु दहालले बताउनुभयो । उद्यम गर्न चहाने युवाहरुलाई वडा तथा गाउँपालिकाको सिफारिसमा उद्यमविकास परियोजनाको मुल्यांकन गरि सहकारीको ऋण परिचालन मापदण्ड अनुसार सहकारीले लगानी गर्ने प्रमुख प्रशासकीय अधिकृत दहालले जनाउनु भयो । सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष डिवि लामा र सहकारी संस्थाको अध्यक्ष प्रदीप थापाबीच हस्ताक्षर भएको हो ।





