2026 April 23/ 05:03: 42am

    रोशी/रोशी गाउँपालिकाले ‘जसको मन उसैलाई संरक्षण’ गर्ने नीति लिएको छ । यसै अनुसार पालिकाले तीन किसानलाई अनुदान सहित माछाका भुरा वितरण गरेको छ । 
गाउँपालिका अध्यक्ष डीबी लामा, प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहाल लगायतको टोली स्थलगत अनुगमन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत दाहालले जसको मन उसैलाई संरक्षण अन्र्तगत माछापालनमा लागेका तीन किसानलाई माछाको भुरा र अनुदान वितरण गरिसकेको बताउनु भयो । उहाँका अनुसार उत्साहित भई पोखरी खनेर देखाउन वडा नं ७ का भीम लामा, वडा न ९ का जनम लामा र वडा नं ११ का बलराम आलेमगरलाई अनुदान दिइएको छ भने वडा न ७ र ९ का भीम र जनमलाई भने  २१÷२१ हजार माछाको भुरा वितरण गरिएको छ । आकर्षक पोखरी निर्माण गरे बापत जनम लामालाई रु ३ लाख ५० हजार अनुदान प्रदान गरिएको थियो भने बलराम आले मगर र भीम लामालाई जनही रु २ लाख ५० हजार, २ लाख ५० हजार प्रदान गरिएको थियो । 
अनुगमनको क्रममा रोशी गाउँपालिका अध्यक्ष डि.वि. लामाले कृषि तथा पशुपालनको क्षेत्रमा नमुना काम गर्ने जुनसुकै कृषकलाई साथ र सम्मान गाउँपालिकाले गर्ने बताउनुभयो । यो क्षेत्र कृषि र पशुपालनको क्षेत्रमा अत्यन्त सम्भावना भएको क्षेत्र भएको हुनाले कृषकहरुलाई उत्प्रेरित गर्दै अगाडि बढिरहेका छौँ, लामाले भन्नुभयो । कृषकले नमुना योग्य, व्यवसायिक, उत्पादनमुखी र उपलब्धिमूलक कार्य गरेर देखाउने कृषकलाई अनुदान, पुरस्कार र सम्मान सहित कार्यक्रम गर्दे आएको बताउनुभयो । यसबर्षको वार्षिक कार्यक्रममा जसको मन उसैलाई संरक्षण भन्ने मान्यतालाई आत्मसात गर्दै गाउँपालिका भित्र मौरी पालन गर्ने २ जना कृषकलाई ३ घार मौरी सहित पुरस्कृत गरिने, सबैभन्दा धेरै दूध उत्पादन गर्ने दुई कृषकलाई ३० हजार बराबरको बाछी किन्न अनुदान दिईने, सबैभन्दा धेरै बाख्रापालन गर्ने दुई कृषकलाई रु ३० हजार बराबरको बाख्रा किन्न पुरस्कार दिइने उल्लेख गरिएको छ । यस आर्थिक बर्षका लागि कृषितर्फ ४० लाख र पशुपालन तर्फ २५ लाख रकम पालिकाले  विनियोजन गरेको छ ।