2026 April 23/ 05:04: 37am

धुलिखेल/बागमती प्रदेश अन्तर्गतका २८ वटा स्थानीय तहमा प्रहरी कर्मचारीहरुसंग सम्बन्धित गुनासो तथा सुझाव संकलनको लागि गुनासो तथा सुझाव संकलन पेटीका राखिएको छ । जिल्लाका १३ वटै स्थानीय तहमा गुनासो पेटीका राखिएको छ । 
धुलिखेल नगरपालिकामा नगर प्रमुख अशोक ब्याञ्जुले गुनासो तथा सुझाव संकलन पेटीकाको उद्घाटन गर्नु भएको थियो भने बनेपामा नगर प्रमुख लक्ष्मीनरसिं बादेले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, कर्णेल नरेश केसी, प्रहरी प्रमुख एसपी रविकुमार पौडेल, धुलिखेल नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सुवेदी लगायतको सहभागिता रहेको थियो । त्यस्तै बनेपामा आयोजित कार्यक्रममा उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती, जिल्ला प्रहरी प्रवक्ता डिएस्पी कुमार विक्रम थापा, इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिना लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो । 
प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीहरुबाट सम्पादन भएका कामकारबाहीको सम्बन्धमा आम नागरिकबाट प्राप्तक हुने सल्लाह, सुझावका साथै गुनासोलाई उचित सम्बोधन गरी प्राप्तर सल्लाह सुझाव अनुरुप प्रहरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आज स्थानीय तहसंगको सहकार्यमा गुनासो तथा सुझाव संकलन पेटीका राखेको हो । बागमती प्रदेश प्रहरी अन्तर्गतका १० वटा जिल्लाहरुमा रहेका महानगरपालीका (एक), उपमहानगरपालीका (एक), नगरपालीका(पच्चीस) र सदरमुकाममा रहेका गाउँपालीकामा(एक) गरी २८ वटा स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटीका राखीएको हो । नागरिकबाट प्राप्ते हुने गुनासो तथा सुझावलाई तत्कालै सम्बोधन गरी प्रहरी सेवालाई प्रभावकारी एवम् जवाफदेही बनाउने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले गुनासो तथा सुझाव पेटीका संचालन सम्बन्धी कार्ययोजना २०७७ तयार गरी चरणगतरुपमा प्रदेशभरीका सबै स्थानीय तहको कार्यालयमा सुझाव संकलन पेटीका राख्ने कार्यक्रम तय गरेकोछ । 
कार्ययोजना भएको व्यवस्था अनुसार प्रथम चरणमा सबै महानगरपालीका, उपमहानगरपालीका, नगरपालीका र सदरमुकाम रहेको गाउँपालीका गरी २८ वटा स्थानीय तहमा, दोस्रो चरणमा ७० वटा गाउँपालीका र तेस्रो चरणमा प्रदेश भरीका ८७४ वटा वडा कार्यालयहरुमा समेत गुनासो तथा सुझाव संकलन पेटीका राखिने कार्यक्रम तय गरिएकोछ । नागरिक सेवामा समर्पित नेपाल प्रहरीले संगठनको काम कारवाहीलाई ब्यवस्थित तथा जवाफदेही बनाउन नागरीकसंगको सहकार्यलाई अपरिहार्य रहेको मनन गरी कार्यक्षेत्रमा रहेको हरेक प्रहरी कार्यालयहरुमा गुनासो पेटिका राख्ने कार्य धेरै अघि देखि प्रारम्भ गरेको भएता पनि प्रहरीको विरुद्ध प्रहरी कार्यालयमै गएर गुनासो ब्यक्त गर्नु सहज महसुस नगरेको कारण अपेक्षित गुनासोहरु संकलन हुन नसकेको बिधमान अवस्था रहेको छ । 
नागरिकहरुले पेटीका मार्फत प्रदान गर्ने गुनासो तथा सुझावलाई प्रदेश प्रहरी कार्यालयले हरेक महिनाको १ गते स्थानीय तहका प्रतिनिधी र स्थानीय प्रहरीको रोहवरमा त्यस्ता गुनासो तथा सुझावको सम्बोधनको लागि प्रदेश प्रहरी कार्यालयमा उजुरी छानबिन शाखा समेत स्थापना गरेको छ । यसरी प्राप्त भएका उचित गुनासो तथा सुझावलाई कार्यान्वयन पश्चात सोको जानकारी सम्बन्धित व्यक्तिलाई हुन प्रदेश प्रहरीको आधीकारीक वेभसाईट मार्फत सार्वजनीक गरिने भएको छ । उजुरी पेटीकामा नागरिकहरुले प्रहरी कार्यालय र प्रहरी कर्मचारीको कामकारबाहीका सम्बन्धमा आफ्नो गुनासो, सुझावका साथै अन्य क्षेत्रमा आवश्यक पहलका लागि प्रहरी सँग राखिएको अपेक्षाहरु समेत राख्न सक्ने छन । अन्य क्षेत्रसँग सम्बन्धित रहेका गुनासो तथा सुझावहरुलाई आवश्यक सम्बोधनका लागि सम्बन्धीत निकायमा पठाईने भएको छ ।