2026 April 23/ 05:06: 41am

फलामेसाँघु/रोशी गाउँपालिकाले नेपाल सरकारले तत्काल स्थापना गर्न लागेको ५ शैयाको अस्थायी अस्पताल वडा नम्वर १ फलामेसाँघुमा स्थापना गर्ने निर्णयलाई तत्काल कार्यान्वयनमा ल्याउने भएको छ । खहरेपाँगु हस्पिटल ब्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले अस्पताल स्थापनाका लागि तत्काल पूर्वाधार तयार गर्ने निर्णय गरेको छ । 
बैठकमा गाउँपालिकाका अध्यक्ष डिबी लामा, प्रमुख प्रशासकिय अधिकृत डम्मरु दाहाल लगायतको सहभागिता रहेको थियो । अध्यक्ष गणेश लामाको अध्यक्षतामा बसेको बैठकले रोशी गाउँपालिका वडा नम्वर १ फलामेसाँघुमा ५ शैयाको रोशी अस्थायी अस्पताल निर्माणका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको अध्यक्ष गणेश लामाले जानकारी दिए । अस्पताल असोज २० गते शुभारम्भ गरिने भएको छ । तत्कालका लागि फलामेसाँघुमा रहेको सामुदायिक भवनबाट अस्पतालको सेवा शुरु गर्ने गरी नेपाल सरकारले ब्यवस्थापनका लागि पठाएको १० लाख रकमबाट ५ बेड, आवश्यक औषधी तथा उपकरणहरु, डाक्टर, नर्स तथा अन्य कर्मचारीहरुको ब्यवस्थापन हुनेछ । खहरेपाँगु स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्दै अस्पतालको विकास गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत डम्मरु दाहालले जानकारी दिनु भयो । 
अध्यक्ष डिबी लामाले रोशी गाउँपालिकाको विकट मानिएका वडाहरु मध्ये वडा नम्वर १,२ र ३ का नागरिकहरुका लागि पक्कि राजमार्ग तथा अस्पतालको पहुँचमा आउन समस्या भएकाले अस्पताल निर्माणको कार्य फलामेसाँघुमा गर्न लागिएको बताउनु भयो । सोहि अस्पतालले नमोबुद्ध नगरपालिका वडा नम्वर ८ र ९, बेथान्चोक ६ का नागरिकहरुका लागि सेवा प्रदान हुनेछ । सरकारले कोभिड नियन्त्रणका लागि अस्थायी अस्पताल निर्माण गर्ने र विस्तारै स्थायी बनाउने तयारी गरेको छ । रोशी गाउँपालिकाको थप १० बेडको अस्पतालका लागि ८५ लाख रकम विनियोजन भईसकेको छ । अस्पताल निर्माणका लागि फलामेसाँघुको सरकारी जग्गा कित्ता नम्वर ५४२ को ८८ रोपनी मध्येबाट केहि रोपनी ब्यवस्थापन हुनेछ । उक्त जग्गामा हाल ४० वटा टहरा निर्माण भएका छन् । उक्त टहराहरु असोज १७ गतेसम्म भत्काउने समितिको निर्णयलाई कार्यान्वयन गरिने वडा अध्यक्ष श्रीदास लामाले बताउनु भयो । अस्पताल ब्यवस्थापनका लागि अध्यक्ष गणेश लामा, उपाध्यक्ष रत्न लामा, सचिव गणबहादुर लामा, कोषाध्यक्ष टुल्कु लामा लगायतको समिति गठन भएको छ भने शंकरदास लामाको संयोजकत्वमा उप समिति गठन भएको छ ।