रोशी/रोशी गाउँपालिकाले गाउँपालिकामा रहेका ६९ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई मास्क र स्यानिटाईजर उपलब्ध गराएको छ । लामोसमयसम्म विद्यालय बन्द रहेको र विद्यालय बन्द रहँदा बालबालिकाहरुको मनोविज्ञानमा पर्ने असर तथा अध्ययन निरन्तर गर्न घर दैलो अभियान र बालबालिकाहरुको सुरक्षाका लागि माक्स र स्यानिटाईजर उपलब्ध गराएको अध्यक्ष डिबी लामाले बताउनु भयो ।
रोशी गाउँपालिकामा ६९ वटा सामुदायिक विद्यालय छन् भने ३ वटा नीजि विद्यालय छन् । ६ हजार ९ सय विद्यार्थी २०७६ सालमा अध्ययन गरिरहेका थिए । गाउँपालिकाले १ सय, ३ सय र ५ सय माक्स प्रावी, निमावि र माध्यमिक तहका विद्यालयलाई उपलब्ध गराएको छ । त्यस्तै १ लिटर, २ लिटर र ३ लिटर स्यानिटाईजर उपलब्ध गराएको छ । चालु शैक्षिक सत्र शुरु नहुँदै विद्यालय बन्द रहेकाले भर्ना अभियानलाई निरन्तरता दिन कठिनाई भए पनि विस्तारै भर्ना गरी पाठ्यपुस्तक वितरण गरिएको शिक्षा शाखा प्रमुख रामबहादुर लामाले बताउनु भयो । विद्यार्थी संख्याका आधारमा विद्यालय एवं विद्यार्थीहरुको सिकाई सहजिकरण गर्ने गरी स्थानीय सरकारले घर दैलो अभियान शुरु गरी बालबालिकाहरुलाई गृहकार्य दिने, घरमै पुगेर गृहकार्य परिक्षण गर्ने कार्य गरिरहेको ग्रामोत्नाथ प्रावि चण्डीगाउँका प्रधानाध्यापक रामबहादुर लामाले बताउनु भयो । उक्त विद्यालयमा २०७७ सालको शैक्षिक सत्रमा ३५ जना बालबालिकाहरु भर्ना भईसकेका छन् ।
सामु्दायिक विद्यालयमा विविधि कारण बालबालिकहरुको संख्या घटिरहेको सन्दर्भमा गाउँपालिकाले विद्यालय एकीकरण गर्ने, शिक्षकहरुको दरबन्दी मिलान गरी शिक्षाको गुणस्तरलाई फराकिलो बनाउँदै लगिएको अध्यक्ष डिबी लामाले बताउनु भयो । २४ जना शिक्षकहरुको दरबन्दी मिलान गरिएको छ । विद्यार्थी भएका स्थानमा विद्यार्थी नभएको विद्यालयबाट शिक्षकहरुको दरवन्दी मिलान गरिएको छ । नेपाल सरकारले चालु शैक्षिक सत्र देखि कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने बालबालिकाहरुका लागि दिवा खाजाको ब्यवस्थापन गरेको छ । उक्त खाजाबाट बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाहरुका लागि पनि ब्यवस्थापन गरिने शिक्षा शाखा प्रमुख रामबहादुर लामाले जानकारी दिनु भयो । कोरोनाका कारण बन्द भएका विद्यालयहरु संचालनका लागि सरोकारवाला पक्षहरुसँग छलफल भईरहेको प्रमुख प्रशासकिय अधिकृत डम्मरु दाहालले जानकारी दिनु भयो ।





