2026 April 23/ 03:58: 05am

बनेपा/भुम्लु गाउँपालिका वडा नम्वर ८ स्थित डुम्रेघाटकी ७४ बर्षीया महिलाको निधन भएको पाँच दिन पछि कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ देखिए पछि उपचारमा संलग्न अस्पतालको लार्पवाहि भएको भन्दै जिल्लास्थित संकट ब्यवस्थापन केन्द्रले मापदण्ड पालना गर्न निर्देशन दिएको छ । 
    भदौ २४ गते ७४ बर्षिया महिलालाई पेट र कम्मरका साथै भोमिट भएकाले बनेपा स्थित शिर मेमोरियल अस्पताल ल्याईएको थियो । अस्पतालमा पाईला समेत नराखेकी महिलाको उपचारको क्रममा भदौ २५ गते निधन भयो । अस्पतालले निःशुल्क कोरोनाको परिक्षण गर्ने भन्दै स्वाब निकाल्यो तर शव आफन्तको जिम्मा लगाई दियो । आफन्तहरुले शव जिम्मा लिएर गाउँ फर्किए । धर्म सँस्कृति अनुसार काजकिरिया गरे । अन्त्येष्टिमा ६०÷७० जना ब्यक्तिहरु सहभागि भएका थिए । भौतिक उपस्थितिको सामाजिक दुरी कायम राख्ने प्रयास भए पनि मृतकको शव जलाउने कार्यमा सहभागिहरु जोखिममा परेको निश्कर्ष भदौ २९ गते मात्रै जानकारी भयो । भदौ २९ गते प्रादेशिक ल्यावले उहाँमा कोरोना रहेको पुष्टी गरे पनि अस्पतालले २९ गतेसम्म सम्वन्धित परिवारलाई जानकारी नगराएको आफन्तको गुनासो छ । अस्पतालका डा. अरुण गुप्ताले बनेपा ठेगाना राखेर स्वाब परिक्षण गरिएकाले बनेपाकै कोरोना संक्रमण पछि सम्पर्क ब्यक्ति पहिचान गर्ने समुहलाई जानकारी गराएको जानकारी दिए । कोरोना परिक्षणका लागि स्वाब लिएको ब्यक्तिको शव ब्यवस्थापनमा अस्पतालले सामान्य मापदण्ड समेत पूरा गरेको नदेखिएकाले स्पष्टिकरण सहित थप निर्देशन दिने निर्णय गरेको कोभिड १९ नियन्त्रण, ब्यवस्थापन तथा रोकथाम समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताउनु भयो । 
    ब्यक्तिको निधन भई सकेपछि कोरोना देखिएकाले थप त्रास फैलिएको भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले बताउनु भयो । अस्पतालको लार्पवाहिका कारण संक्रमण फैलन सक्ने भएकाले सचेत र सजग रहन अध्यक्ष कुँवरले अनुरोध गर्नु भएको छ । अस्पताललाई गाउँपालिका अध्यक्ष, जिल्ला संकट ब्यवस्थापन केन्द्र र नागरिकहरुले कोभिड १९ नियन्त्रण गर्ने सन्र्दभमा गरेको त्रुटीका बारेमा प्रश्न तेस्र्याएका छन् । ‘मृतक महिलाको कोरोनाको नमुना परिक्षण किन गरेको ?, परिक्षणको लागि नमुना प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाए पछि मृतकको शव किन परिवारलाई हस्तान्तरण गरिएको ? एकदिन पनि रिपोर्ट कुर्न किन नसकेको ?, नमुना संकलन गरेपछि रिपोर्ट नआउन्जेल कुर्नुपर्छ भन्ने अस्पताल संचालकलाई थाहा नभएको कि भएर पनि अटेर गरेका ?, अस्पतालको गल्तिले मलामी गएका व्यक्तिमा संक्रमणको जोखिम देखियो भने त्यसको जिम्मेवारी लिने कि नलिने ?, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले गर्ने सजायँ स्वीकार गर्ने कि नगर्ने ?’ जस्ता प्रश्न उठेका छन् । महामारीका बेला जनस्वास्थ्यको बिषयमा अस्पतालले गरेको गल्तिले सर्वसाधारणलाई त्रसित बनाएकाले तत्काल सुधार गर्न निर्देशन दिईएको छ । संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, प्रदेश जनस्वास्थ्य प्रयोगशालाको पूर्व स्वीकृति, अनुमति नलीकन नै सःशुल्क १ हजार ५ सय भन्दा धेरै जनाको पिसिआर परिक्षण गरेकाले त्यस्तो परिक्षण गर्दा अनुमति लिनु पर्ने कि न र्ने ? अस्पताललाई स्पष्टिकरणमा सोधिएको छ । अस्पतालले रकम लिएर स्वाब परिक्षणका लागि अन्यत्र पठाउने गरेको थियो । यसअघि पनि पनौती निवासी ९ बर्षे बालकको आकस्मिक शल्यक्रिया गर्दा कोरोनाको नमुना परिक्षण गरेको थियो । परिक्षणको लागि नमुना अन्य अस्पतालमा पठाएपछि उनलाई घर पठाएको भोलिपल्टै बालकमा कोरोना संक्रमण देखिएको थियो ।  जिल्ला संकट ब्यवस्थापन केन्द्रले दिएको निर्देशन समेत अस्पतालले पटक–पटक उलघन गरेको भन्दै अस्पतालको आलोचना गरिएको छ । संघीय सरकारको निर्देशन बमोजिम प्रत्येक अस्पतालले कम्तिमा २ सय ५ आईसोलेसन बेड ब्यबस्थापन गरि अस्पताल संचालन गर्नुपर्नेमा शिर मेमोरियलमा ५ बेड मात्रै रहेको बताईएको छ । अस्पतालका डा. अरुण गुप्ताले मापदण्ड पालना गर्न प्रतिबद्ध रहेको भए पनि केहि त्रुटी भएको स्विकार्नु भएको थियो । अस्पतालका आफ्ना नियमहरु पनि भएकाले समन्वयात्मक ढंगबाट अगाडि बढ्ने उहाँले बताउनु भयो ।