2026 April 23/ 03:56: 36am

बनेपा/भाई र बुहारी दुवैलाई बञ्चरो प्रहार गरी हत्या गर्ने योजना बनाएका युवक प्रहरी नियन्त्रणमा परेका छन् । बञ्चरो प्रहार गरी बुहारीको हत्या भए सँगै भाई भागेर ज्यान बचाएका थिए । 
    विहान उज्यालो हुँदै थियो । ६.३० को समयमा भाई बुहारी घरबाट बाहिर निस्कदै थिए । बुहारी रञ्जना तिमल्सिना अधिकारी भाँडा माझेर फर्कँदै थिईन् । घर भित्र प्रवेश गर्ने क्रममा ४२ वर्षिय जेठाजु सुदर्शन अधिकारीले हातमा लिएर आएको बञ्चरो एक्कासी प्रहार गरे । रोक्न खोज्दै गर्दा भाई अर्थात रञ्जनाका श्रीमान् शंकर अधिकारीलाई समेत आक्रमणको प्रयास गरेसँगै उनि भागे । उनले गाउँलेहरुलाई खबर गरे । तत्काल स्थानीयहरुले प्रहरीको सहयोगमा जेठाजु सुदर्शन अधिकारीलाई नियन्त्रणमा लिए । घटनास्थलमा श्यामपाटी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय काभ्रेमा डिएस्पी कुमार विक्रम थापाको टोली पुगी अनुसन्धान गरी हत्या गर्ने सुदर्शनलाई नियन्त्रणमा लिएर फर्किएको प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले जानकारी दिनुभयो । 
    प्रहरी प्रमुख एसपी पौडेलले घटनास्थल तथा लासजाँच मुचुल्का समेतको कार्य सम्पन्न गरी शब परिक्षणका लागि फोरेन्सिक मेडिसिन विभाग काठमाण्डौं मेडिकल कलेज दुवाकोट भक्तपुरमा पठाईएको जानकारी दिनुभयो । मृतक रञ्जना तिमिल्सिना अधिकारीको दायाँ पट्टी घाँटीमा र टाउकोको पछाडी बायाँ पट्टी धारिलो हतियारले काटिएको घाउचोट रहेको छ । प्रारम्भिक अनुसन्धानबाट प्रतिवादी सुदर्शन अधिकारीले बुहारी रञ्जना तिमिल्सिना अधिकारीलाई घरायसी विवादको कारण बञ्चरो प्रहार गरि हत्या गरेको भन्ने खुल्न आएको छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ (ज्यान सम्बन्धी कसुर) कर्तव्य ज्यान मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरी प्रवक्ता डिएस्पी कुमार विक्रम थापाले जानकारी दिनुभयो । 
छोराको आक्रोश
    मृतक रञ्जनाको छोरा कुशल अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा आमा हत्याका बारेमा आक्रोशपूर्ण स्टाटस लेखेका छन् । ११ वर्ष उमेरका कुशल अधिकारीले आमालाई मार्ने ब्यक्तिलाई आमालाई जस्तै गरी फाँसी दिएर मार्न माग गरेका छन् । सामाजिक सञ्जालमा लेखिएको छ–‘मेरो ममीलाई जसले मारेको हो त्यसले फासी पाओस् । मेरो बाबा र ठूलो बाबाले रक्सी खाएर ममीसँग पैसा माग्न आउनु हुन्थ्यो । बाबाले ममीलाई पिट्न आउनु हुन्थ्यो । मैले बाबाले पिट्न आउँदा पिट्न दिन्नथें । म मामाघरमा हुँदा मेरो ममीलाई मारे । मलाई र ममीलाई रिस उठायौं भने काटेर हिड्छु भन्नुभाको थियो बाबा र ठुलोबाबाले ।’ उनि मामाघरमा छन् । मामा घरबाट उनले ममीको हत्याका बारेमा तत्काल कारवाहीका लागि माग गरेका छन् । 
श्रीमती लखेटेर विदेश भागे
    धेरै समय बाहिरी मुलुक बस्दै आएका हत्यामा संलग्न भनिएका सुदर्शन अधिकारी १७÷१८ दिन अघि मात्रै घर फर्किएका थिए । त्यसअघि उनि काठमाडौमा बस्दै आएका थिए । त्यसअघि उनि बैदेशिक रोजगारका क्रममा बाहिर थिए । बंगाली युवतीसँग विवाह गरी गाउँ ल्याएका उनले केहि वर्ष अघि कुटपिट गरी लखेटेका थिए । उनीबाट जन्मिएका एक सन्तान पनि छन् । अघिल्लो दिन बुधबार घरमा नयाँ खाट फेरिएको थियो । जेठाजु अर्थात सुदर्शन अधिकारी विहानै रञ्जनाको घर अगाडि आएर बञ्चरोले प्रहार गरि हाले । बञ्चरो प्रहार गरे लगत्तै उनि दलानमा ढलिन् । ऐया भन्न नपाउँदै उनको श्वास त्यहि गयो ।