नमोबुद्ध/नमोबुद्ध नगरपालिकाले नगरभित्र रहेका अपांगता भएका व्यक्ति र स्वास्थ्य स्वयंसेविकाको कोरोना बीमा गरेको छ । नमोबुद्ध नगर कार्यपालिकाको बोर्ड बैठकले नगरपालिकाबाट विभिन्न समयमा अपांगता परिचयपत्र वितरण गरेका व्यक्तिहरुमध्ये रातो र निलो परिचयपत्र प्राप्त गरेका अपांगता भएका व्यक्तिको कोरोना बीमा गर्ने निर्णय गरेको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताउनु भयो ।
पछिल्लो समय बढ्दो कोरोना महामारीका कारण अपांगता भएका व्यक्तिहरु पनि बढी प्रभावित हुने देखिएकाले नगरपालिकाबाट कोरोना बीमा गर्ने निर्णय गरिएको तिमल्सिनाले बताउनुभयो । ‘विपन्न र असहाय वर्गको हितका लागि नमोबुद्ध नगरपालिका सबैं प्रयत्नशील रहेको छ’ नगर प्रमुख तिमल्सिनाले भन्नुभयो, ‘आगामी दिनमा पनि उहाँहरुको हितका लागि आवश्यक कार्यक्रम अघि बढाउन थप योजनाहरु निर्माण गरिनेछ ।’ नमोबुद्ध नगरपालिकामा रातो अपांगता परिचयपत्र पाउने ९० जना रहेका छन् भने निलो परिचयपत्र पाउने व्यक्ति १ सय ४५ जना रहेका छन् । यसैगरी नगरपालिकामा कार्यरत स्वास्थ्य स्वयंसेविकाको पनि कोरोना बीमा गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ । नमोबुद्ध नगरपालिकामा ८१ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् ।





