बनेपा/दिगो विकासको लागि राष्ट्रिय अभियान नेपालले काभ्रे जिल्लामा दिगो विकास लक्ष्य १६ प्लसको स्थानीयकरणमा काम गर्दै आएको छ । २०७६ मंसीर २ गते जिल्लाभरको वकालत कार्ययोजना बनाउने कार्यशालामा दिगो विकास लक्ष्य १६ प्लस कार्य समुह गठन गरि काभ्रे जिल्लामा शान्ति, न्याय र समावेशी समावेशीकरण काम गर्ने र स्थानीय तहहरुलाई सहयोगात्मक भूमिका खेल्दै दिगो विकास लक्ष्यको क्रियाकलाप स्थानीय तहसम्म लैजाने काममा पनि जिल्लाका सरकारी र गैरसरकारी कार्यालयहरुलाई सहयोगीको रुपमा काम गर्ने हेतुले गठन भएको समुहले पहिलो अनलाईन बैठक सम्पन्न गरेको छ ।
बैठकमा जिल्ला भरको गैरसरकारी संस्था, मानवअधिकारवादी संस्था, जिल्लाका पत्रकारहरु, गैरसरकारी संस्था महासंघ, जिल्ला बार एसोसियसन, जिल्ला सरकारी वकिलको कार्यालय लगायत २२ वटा संस्थाले सहभागिता जनाएका थिए । कोभिड महामारीले अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय तह समेतलाई थिलथिलो पारेको बेला भेला भएर बैठक गर्न सम्भव नभएको हुँदा अनलाइनबाट आयोजना गरिएको थियो । बैठकमा कार्यक्रम संयोजक नरेश श्रेष्ठले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । संस्थाका उपाध्यक्ष गंगा दोङले संचालन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष दयासागर श्रेष्ठले संस्थाको काम र राष्ट्रिय परिस्थितिको वारेमा जानकारी गराउनु भएको थियो । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले समग्र जिल्लाको अवस्था, कोरोनाको अवस्था र महामारी, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले गरेको पहल, जिल्लामा आत्महत्या र मनोरोगीको बृद्धिबारेमा सचेत गराउनु भएको थियो । घरेलु हिंसा, महिला हिंसा, बलात्कार जस्ता जघन्य अपराध बढेको जसले गर्दा उजुरी गन समेत नपाएको, मनोरोगीहरुको संख्यामा बृद्धि भएको कुरा राख्नु भएको थियो ।
शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंख बुद्ध लामाले सवै संस्थाहरुलाई एकठाउँमा ल्याएर जिल्लाको अवस्थाबारे छलफल गरेको जिल्लामै पहिलो भएको र यसले जिल्लामा सुशासन, शान्ति र न्यायमा सहयोग पुग्ने र हालको महामारीमा काम गर्न नपाएको केहि राहत वितरण गरेको यसले काम गर्न संस्थालाई सहयोग पुग्ने बताउनु भयो । गैसस महासंघ काभ्रेका अध्यक्ष टोम सापकोटाले जिल्लामा कोभिड १९ ले गर्दा संस्थाहरुको नविकरण हुन नसकेको, काम गर्न कठिनाई भएको र समयमा नविकरण हुन नसक्दा पछि काम गर्न गाह्रो पर्ने हो की भन्ने कुरा अवगत गराउनु भएको थियो । महिला अधिकारकर्मी कृष्णप्यारी नकर्मीले संघसंस्थासँग अन्तरक्रिया गर्न पाएको जिल्लाको अवस्था बुझन पाएको, आफु सुरक्षित हुनुपर्ने र अरुलाई सुरक्षित राख्न सहयोग गर्ने काम हो भन्दै यो महामारीमा केहि राहत वितरण गरेको यस्तो अवस्थामा अपाङ्गता भएको व्यक्तिहरुलाई विशेष ध्यान दिनुपर्ने कुरा राख्नु भएको थियो ।
जिल्ला बार एसोसियसन काभ्रेका सचिव मधुसुधन वाग्लले कार्यक्रम संचालन गरेकोमा सम्पूर्ण टिमलाई बधाईका साथै सम्पूर्ण जिल्लाका संस्थाहरुलाई एकठाउँमा ल्याउन सफल भएकोमा खुशी व्यक्त गर्नु भएको र जघन्य अपराध, बलात्कार, घरेलु हिंसा, महिला हिंसा आदि जस्ता गुनासाहरु पछि समेत उजुरी गर्न पाउने व्यवस्था रहेको जानकारी गराउनु भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख लोक बहादुर कटुवालले कोभिडले गर्दा न्यायको अनुभूति गर्न नपाएको र यसले दिगो विकास लक्ष्य समेतलाई असर गर्ने कुरा राख्नु भएको थियो । युवा संजालका तर्फबाट संजीव न्यौपानेले युवाहरुलाई उद्योगमा जोडिन पहल गर्नुपर्ने बताउनु भयो । कोभिड १९ ले गर्दा युवामा निराशापन बढ्ने गरेको र आत्महत्या पनि बढेको हुनाले सामाजिक सुरक्षा पाउने भन्दा सामाजिक सुरक्षा नपाउने युवाहरुमा बढी निराशा देखिएको हुँदा सरकारले बेरोजगारहरुको लागि महामारीमा जीवन रक्षाको लागि केहि पहल गर्नुपर्ने आवश्यक रहेको छ ।
बैठकमा उठेका कुरालाई संस्थाका अध्यक्ष दयासागर श्रेष्ठले सम्बोधन गर्नु भएको थियो । जसमा स्थानीय तहको काम भनेको अहिले स्थानीय नागरिकहरुलाई भोक र रोगबाट बचाउने पहल गर्नुपर्ने बताउनु भयो । महामारी विरुद्धको खोप नबनिसकेको अवस्थामा र कोरोना बढ्ने अवस्था रहेकोले सुरक्षामा ध्यान दिनु जरुरी रहेको उहाँले बताउनु भयो । छलफलबाट निकालिएका निश्कर्षहरुलाई कार्यक्रम संयोजक नरेशकुमार श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो भने संस्थाका सचिव रीता मानन्धरले धन्यवाद ज्ञापन गर्नु भएको थियो । दिगो विकास लक्ष्य १६ प्लस कार्यक्रमको सहजिकरणमा गठन भएको कार्यसमुहको काम विशेषतः जिल्लामा शान्ति, न्याय र समावेशी सहभागितालाई मध्यनजर राख्दै हाल विश्व सहित देश र जिल्लामा भएको कोरोना आक्रान्तलाई न्यूनिकरण वा सम्बोधन गर्न स्थानीय तहले के कस्ता कार्यहरु गरेको छ, सामाजिक संस्थाले कसरी सहयोग पु¥याउन सकिन्छ, न्यायमा नागरिकको अवस्था के छ, आदि कुरालाई मध्यनजर गरि कार्यक्रम राखिएको हो ।
बैठकले सामाजिक संस्थाका तर्फबाट आ–आफना काम र गर्नुपर्ने विषय, कोरोनाले गर्दा आर्थिक अवस्था तहसनहस भएको, व्यापारीको लागि सरकारले कुनै राहत प्याकेज न ल्याएको, घरभाडा र कर समेतमा राहत नदिएकोले सरकारले त्यसतर्फ ध्यान दिन जरुरी रहेको, घरेलु हिंसा, जबरजस्ती करणी, महिला ंिहसा जस्ता अपराधहरु बढेको र त्यसमा करोनाले गर्दा पीडित न्यायबाट बन्चित भएको छ, पछि उजुरी नलाग्ने होकी भन्ने चिन्ता समेत बढेको, करोना महामारीले मनोरोगीहरुको संख्या बढ्ने र त्यसले मानिसको ज्यानमा समेत खतरा हुने हँुंदा त्यसतर्फ सबै निकायको ध्यान जान जरुरी छ र त्यसको लागि मनोपरामर्श सेवा संचालनमा सहयोगको लागि स्थानीय तहदेखि केन्द्रसम्मका सरकारको ध्यान दिन, स्थानीय संचार माध्यमले हिंसा तथा अन्य अपराधका कारणले हाल कोरोनाको लकडाउनमा उजुरी गर्न नपाए पनि हदम्याद नलाग्ने र पछि समेत उजुरी गर्न पाईने सन्देश सम्प्रेषण गर्न, युवाहरु बढी पीडित छन्, उनीहरु मानसिक समस्यामा परेका छन्, उनीहरुले रोजगार गुमाएका छन्, उनीहरुको लागि स्थानीय सरकारदेखि संघीय सरकारले राहतको काम तथा कोरोना वीमा र बेरोजगारी समाधानको लागि केहि पहल गर्न अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै कोरोनाले गर्दा गर्नुपर्ने काम समेत ठप्प रहेकोले सबै तह तप्काहरु मारमा परेकाले त्यसबाट संकट भए सहयोग गर्न, अपाङ्गता भएका मानिसहरुलाई कोरोना महामारी तथा बन्दाबन्दीमा धेरै समस्या पर्नेगरेको हँुदा उनीहरुको समस्यालाई ध्यान दिन, कोरोना कहरको बन्दाबन्दीमा संस्थाका कामहरु ठप्प रहेकोले अब आउँदा समयमा के गर्ने संस्था नविकरणहरुलाई सरकारले व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय भएको छ ।





