बनेपा/धुलिखेल नगरपालिका वडा नम्वर २ रवि स्थित थिङ्गगाउँ घर भएका ४५ बर्षीय भिमलाल तामाङलाई भदौ ३ गते बुधबार साँझ आएको वर्षात्का कारण बढेको खोलाले बगाएको छ । ससुरालीबाट घर फर्कँदै गरेका तामाङलाई खोलाले बगाएको वडा अध्यक्ष देवप्रसाद कोईरालाले जानकारी दिनुभयो ।
विहीबार विहान तामाङको शव थिङ्ग खोलाकै किनारामा फेला परेको थियो । बाटोबाट एक किलोमिटर भन्दा धेरै बगाएका कारण उनको निधन भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुरेश केसीका अनुसार मृतक तामाङको शवको पोस्टमार्टम पछि परिवारलाई बुझाईएको थियो । विहिबार नै उहाँको अन्त्येष्टी गरिएको परिवारले जानकारी दिएको छ । सोहि दिन परेको वर्षात्का कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको छ ।





