बनेपा/शनिबार साँझ बनेपा नगरपालिका वडा नम्वर १३ भैसेपाटीमा रहेको स्पाईनल इन्जुरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र विरामीहरुमा तथा धुलिखेल अस्पतालमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिए पछि उक्त क्षेत्रमा शिल गरिएको छ ।
भैसेपाटी क्षेत्रमा अस्पताल आसपासका सबै क्षेत्रमा शिल गरिएको वडा अध्यक्ष सुर्यनारायण नापितले जानकारी दिनु भएको छ । भैसेपाटी स्थित स्पाईनल इन्जुरी अस्पतालमा शनिबार एकै दिन २३ जना कर्मचारी र विरामीमा संक्रमण देखिएको थियो । यसअघि एकजना स्वास्थ्यकर्मी र एकजना कर्मचारीमा संक्रमण देखिए पछि ५९ जनाको स्वाब परिक्षण गरिएको थियो । विरामी र कर्मचारी गरी अस्पताल परिसरमा झण्डै २ सय भन्दा धेरै छन् । अझै १ सय ११ जनाको स्वाब परिक्षण गर्नुपर्ने अस्पतालले जानकारी दिएको छ । अस्पतालले एक÷एक साता कर्मचारीहरुलाई आलोपालो गरिरहेको छ । सोहि कारण आधा कर्मचारीहरु उक्त संक्रमणको जोखिम भन्दा तत्कालका लागि बाहिर रहेको अनुमान अस्पतालले गरेको छ । स्थानीयहरु समेत भएकाले उक्त क्षेत्रमा नियमित घरबाट आउने जाने भएकाले समुदायमै संक्रमण फैलन सक्ने भएकाले कडाईका साथ शिल गरी परिक्षण कार्यलाई तिब्र बनाईएको छ । यसअघि उक्त वडामा अन्य ब्यक्तिहरु संक्रमित भए भने संघीय प्रहरी कार्यालयमा कार्यरत १९ जना ब्यक्तिहरु संक्रमित भए ।
धुलिखेल अस्पतालमा शनिबार साँझ संक्रमण देखिएका १२ जनाको सम्पर्कमा रहेका ब्यक्तिहरुको पहिचान शुरु गरिएको छ । जसमध्ये धुलिखेल नगरपालिका वडा नम्वर ३, ६, ७, १०, पनौती नगरपािलका वडा नम्वर ५ र ९ लगायतका क्षेत्रमा उनिहरुको परिवार र अन्य ब्यक्तिहरुको सम्पर्क खोजी गरिएको छ । पनौती नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुरुषोतम तिमल्सिनाले संक्रमित ब्यक्तिहरुको नजिकको सम्पर्कमा रहेका ब्यक्तिहरुको खोजी गरी परिक्षणको तयारी गरिएको तिमल्सिनाले जानकारी दिनुभयो । धुलिखेल नगरपालिका वडा नम्वर १० मा संक्रमण देखिएका ब्यक्ति अस्पतालको क्यान्टिनमा कार्यरत थिए । उनको गाउँमा पनि होटल थियो । होटलकै कारण धेरै ब्यक्तिहरु सम्पर्कमा रहेकाले तत्कालका लागि उक्त क्षेत्र शिल गरिएको अध्यक्ष पुष्पराज राउतले जानकारी दिनु भयो । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनै परे मास्क लगाएर मात्र निस्कन, भिडभाडमा नजान र सरसफाई तथा स्वास्थ्य सुरक्षामा ख्याल पु-याउन अध्यक्ष राउतले अनुरोध गर्नु भएको छ ।
संक्रमितको संख्या थपिदै गए पछि धुलिखेल नगरपालिकाले एक हजार ब्यक्तिहरुको पिसिआर परिक्षण गराउने भएको छ । संक्रमितको सम्पर्कमा रहेका झण्डै एक हजार ब्यक्तिको परिक्षणको तयारी गरिएको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनु भयो ।





