बैंकहरू आलोपालो प्रणालीमा
कोरोना भाईरस संक्रमणको जोखिम न्यूनीकरणका लागि नमोबुद्ध नगरपालिकाले आवश्यक तयारी र सरोकारवालासँगको छलफल र समन्वयलाई तीब्रता दिएको छ । सोही क्रममा नगरप्रमुख टिपी शर्मा तिमल्सिना र स्वास्थ्यकर्मीसहित सरोकारवालाहरूको बैठकले नगरभित्रका सबै स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।
बैठकले नगरपालिकाको आइसोलेसन र क्वारेन्टिनलाई थप व्यवस्थित बनाउने निर्णय गरेको छ । यस्तै नमोबुद्ध नगरपालिकामा रहेका बैंकहरू आलोपालो प्रणालीमा सञ्चालन हुने भएका छन् । कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरणका लागि नगरपालिकामा नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा बसेको बैंकका प्रतिनिधिसहितको बैठकले आलोपालो प्रणालीमा बैंकिङ सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । नमोबुद्ध नगरपालिकाको व्यापारिक केन्द्र भकुन्डेमा रहेका राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक र सिन्धु विकास बैंकका शाखामा आइतबार, मंगलबार र बिहीबार बैंकिङ कारोबार हुनेछ । यस्तै लक्ष्मी बैंक र लुम्बिनी विकास बैंकका शाखामा सोमबार, बुधबार र शुक्रबार मात्रै कारोबार सञ्चालन हुनेछ । बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै बैंकिङ समय बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म तोकेको छ । नगर भित्र कोरोना संक्रमण फैलन नदिन नमोबुद्ध नगरपालिकाले आजदेखी भदौ ७ गतेसम्म अत्यावश्यकबाहेक सवारीसाधन र बजार पसल सञ्चालनमा रोक लगाइसकेको छ । यस्तै दैनिक उपभोग्य सामग्रीका पसल बिहान ६स्३० देखि ९ र साँझ ४ देखि ७ बजेसम्म मात्र खोल्न पाइने निर्णय गरिएको छ ।
यस्तै नगरपालिकाले नगर भित्र रहेका उद्योग कलकारखानामा तत्काललाई बाहिरबाट कामदार ल्याउन रोक लगाएको छ भने सरकारले तोकेको मापदण्ड पूरा गरेर मात्र उद्योग कलकारखाना चलाउन भनेको छ । भविष्यमा आइपर्ने सम्भावित जोखिमलाई ध्यान दिँदै उद्योग परिसरभित्रै क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापन गर्न पनि नगरपालिकाले निर्देशन दिएको छ ।
यातायात र पसल व्यवसाय बन्द
भकुण्डे–नमोबुद्ध नगरपालिकाले गत आइतबारदेखि नगर भित्र अत्यावश्यक बाहेक सबै पसल व्यवसाय र यातायात बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथामका लागि साउन ३२ गते आइतबारदेखि भदौ ७ गतेसम्म अत्यावश्यकबाहेकका सबै पसल व्यवसाय वन्द गर्ने निर्णय बसेको नगर कार्यपालिकाको बैठकले गरेको हो । बैठकले नगर भित्र अत्यावश्यक, पास भएका र सरकारीबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा अन्य सरोकारवाला निकायका प्रतिनिधिसमेतको उपस्थितिमा बसेको बैठकले विपद व्यवस्थापन समितिको शुक्रबार बसेको निर्णयअनुसार सर्वसाधारण नागरिकलाई अत्यावश्यक कामबाहेक घरभित्रै बस्न, घरबाहिर निस्कनपरेमा मास्क लगाएरमात्रै निस्कन समेत आग्रह गरेको छ ।
यस्तै नगरपालिका र यसअन्तर्गतका कार्यालयमा अत्यावश्यक सेवाबाहेक अन्य सेवालाई आलोपालो प्रणालीमा सञ्चालन गर्ने निर्णय गरिएको नगरप्रमुख तिमल्सिनाले बताउनुभयो । बैठकले स्वास्थ्य मापदण्ड पालना नगरी आवतजावत गर्नेलाई संक्रमण रोग नियन्त्रण ऐनअनुसार कार्बाही गर्ने निर्णयसमेत गरेको छ । बैठकले मानिसको भिडभाड हुने कुनै पनि बैठक, सभा, सम्मेलन, गोष्ठी सेमिनार जस्ता क्रियाकलाप गर्न रोकसमेत लगाउने निर्णय गरेको छ । नगर कार्यपालिका बैठकले गरेको निर्णय कार्यान्वयनका लागि नियमित अनुगमन गर्ने र निर्णय उल्लंघन गरेको पाइएमा कानुन बमोजिम कार्बाही हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला चापागाईंले बताउनुभयो ।
विपन्नलाई राहत वितरण
भकुण्डे–कोरोना महामारीका कारण समस्यामा परेका काभ्रेको नमोबुद्ध नगरपालिकाका विपन्न परिवारलाई राहत वितरण गरिएको छ । समाजसेवी वाङचुक राप्तेन लामाको समन्वयमा एलिभेट नेपालको सहयोगमा प्राप्त राहत नमोबुद्ध नगरपालिकाले नगरका सबै वडाका विपन्न परिवारलाई वितरण गर्न सुरु गरेको हो ।
शुक्रबार पहिलो चरणमा नगरपालिकाका वडा नम्वर १, २, ४, ७ र ११ का विपन्न परिवारलाई राहत वितरण गरिएको छ । राहत प्याकेजमा प्रतिपरिवार २५ किलो चामल, ५ किलो दाल, ५ प्याकेट तेल तथा २ प्याकेट नुन रहेको छ । नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले नगरपालिकामा औपचारिकरुपमा राहत वितरणको सुरुवात गर्नुभएको थियो । कोभिड संक्रमणको समस्यालाई ध्यानमा राख्दै सम्वन्धीत वडाबाटै राहत वितरण गर्ने व्यवस्था मिलाइएको थियो । बाँकी वडाका विपन्न परिवारलाई केही दिनभित्रै अर्को चरणमा राहत वितरण गर्ने नगरपालिकाले जनाएको छ ।
लामो समयदेखि नमोबुद्धमा स्वास्थ्य सेवामा समर्पित वाङचु्क राप्तेन लामाले कोभिड १९ को महामारीका कारण काम नपाएर समस्यामा परेका विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले राहतका लागि समन्वय गरेको बताउनुभयो । यसअघि पनि लामाले नमोबुद्ध नगरपालिकामा पिपिई सेट, स्यानिटाइजर र मास्क सहयोग गर्नुभएको थियो । आगामी दिनमा पनि नगरपालिकाका विपन्न वर्गलाई सहयोग गर्ने लामाले बताउनुभयो । राहत वितरण कार्यक्रममा वडा नंवर १ का अध्यक्ष कर्म ग्याल्बो लामा, २ का अध्यक्ष सन्जीव ढकाल लगायतले सहयोगी दाताप्रति अभार प्रकट गरेका गर्नुभएको थियो ।





