2026 April 23/ 02:09: 50am

नमोबुद्ध/नमोबुद्ध नगरपालिका वडा नम्वर २ मा रोटरी क्लब अफ धुलिखेलको प्रायोजनमा रोटरीको भगिनी संस्था रोटरी सामुदायिक संघ पिपलचौरमा सविना श्रेष्ठको अध्यक्षतामा स्थापना गरिएको छ । 
रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका रोटरी सामुदायिक संघ (
RCC Committee chair) समितिका सभापति रोटरीयन आशोक कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा र नमोबुद्ध नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष सन्जिव ढकाल तथा रोटरीयन सुशिल कुमार ब्यान्जु श्रेष्ठको बिशेष आतिथ्यतामा रोटरी इन्टरनेशनलबाट प्राप्त स्वीकृतिको प्रमाणपत्र सुशिलकुमार ब्यान्जुले रोटरी सामुदायिक संघका अध्यक्ष सविना श्रेष्ठलाई हस्तान्तरण गरि रोटरी सामुदायिक संघको विधिवत् रुपमा घोषणा गरिएको थियो । 
 संस्थाका अध्यक्ष लगायत सबै सदस्यहरुलाई सपथ खुवाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो । सोहि अवसरमा वडा अध्यक्ष सन्जिव ढकालले रोटरी सामुदायिक संघ गठन भएकोमा खुशी व्यक्त गर्दै संस्थाले अघि सारेको सामाजिक हितका कार्यक्रममा सहयोग रहने प्रतिवद्धता जाहेर गर्नुभएको थियो । सोहि अवसरमा रोटरी क्लब अफ धुलिखेलबाट तत्काल उपचारको लागि आकस्मिक उपचार सामाग्री र औषधि साथै पिपलचौर गाँउको मुहार उज्यालो बनाउनको लागि फलफुलका बिरुवाहरु प्रदान गरिएको थियो । पिपलचौरमा रोटरीबाट शिक्षा, स्वास्थ्य, कृषि तथा वातावणरका क्षेत्रमा समेत कार्यक्रमहरुमा रोटरीले सघाउदै आइरहेको छ । रोटरी सामुदायिक संघले समुदायको हितमा रहि समुदायको आवश्यकता अनुसार रोटरीले अघि सारेको मानविय सेवा कार्यलाई अघि बढ्न दत्तचित भै काम गर्ने प्रतिबद्धता अध्यक्ष सविना श्रेष्ठले बताउनु भयो  । पदस्थापना समारोहमा रोटरी क्लबका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक लगायत संघका सदस्यहरु सल्लाहकारहरुको उपस्थिति रहेको थियो । साथै श्रावण २९ गते दिन रोटरी सामुदायिक संघको पहलमा अहिले विकराल रुप लिइदै गरेको कोभिड–१९ बारे  सविना श्रेष्ठबाट जनचेतनामुलक पर्चा र केहि ब्यक्तिहरुको स्वास्थ्य परिक्षण तापक्रम, रक्तचाप र शरीरमा अक्सिजनको मात्राको जाँच तथा रोगबाट बच्न परामर्श दिइएको थियो ।