भकुण्डे/नमोबुद्ध नगरपालिका काभ्रेले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर बुधबार नमोबुद्ध ४ पौडेलचौरस्थित स्मृति पार्कमा वृक्षारोपण सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
विश्वव्यापी महामारी कोभिड १९ को प्रकोपलाई मध्येनजर गर्दै स्वास्थ्य सचेतनासहित नगरपालिकाअन्तर्गतको नगर युवा परिषदले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नगरप्रमुख टिपी शर्मा तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईं, नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनाल, शिक्षा शाखा प्रमुख जनार्दन रिजाल लगायतले वृक्षारोपण गर्नुभएको थियो । कार्यक्रममा नगरप्रमुख तिमल्सिनाले युवाहरुलाई स्वरोजगार बनाउन र युवाको हितमा काम गर्न नमोबुद्ध नगरपालिकाले विभिन्न योजनाहरु निर्माण गरेको बताउनुभयो । उहाँले नमोबुद्धमा युवाहरुका लागि राष्ट्रियस्तरका परियोजना अघि बढाइएको जानकारी पनि दिनुभयो । वृक्षारोपण कार्यलाई निरन्तरताका साथै संरक्षणमा पनि जोड दिनुपर्ने तिमल्सिनाले बताउनुभयो ।
नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनालले शिक्षा अभियानका लागि युवा सहभागिता, रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा सहभागिता भन्ने नाराका साथ युवा दिवस मनाइएकाले वातावरण संरक्षणमा युवाहरुको चासो अभिवृद्धि गर्ने उद्देश्यले वृक्षारोपण गरिएको बताउनुभयो ।
सरोकार समाज नेपाल, ग्रामीण विकास संस्था, नमोबुद्ध विकास मञ्च र नगर युवा सञ्जालको सहकार्यमा भएको कार्यक्रममा बोधिचित्त, धुपी लगायतका बिरुवा रोपिएको थियो ।





