2026 April 23/ 01:43: 35am

बनेपा/रेयुकाई एईको मासुनागा आँखा अस्पतालले धुलिखेल नगरपालिका क्षेत्र भित्र रहेका स्वास्थ्य चौकी अन्र्तगत हेल्थपोस्ट र ओपिडी इन्चार्जहरुका लागि आँखाको रोगबारे एक दिने अभिमुखीकरण तालिम उपलब्ध गराएको छ । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले तालिमको उद्घाटन गर्दै स्वस्थ शहर धुलिखेल नगरको अवधारणालाई रेयुकाई आँखा अस्पतालसँग आँखा सम्वन्धी रोगका विरामीहरुको पहिचान र उपचार गरी सहकार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । 
‘गरिब ब्यक्तिहरुका लागि उपचार सेवाको पहुँच पु¥याउन आवश्यक छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘समुदायमा आधारित स्वास्थ्य सेवा उपलब्ध गराउने गरी स्वस्थ शहरको अवधारणा ल्याएका हौं ।’ नागरिकहरुको स्वास्थ्य विमा, विमाका लागि आवश्यक रकम, जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तिहरु तथा सीमान्तकृत समुदायका लागि सहुलियत उपलब्ध गराउँदै ब्यक्तिले प्रयोग गर्ने सेवा तथा दैनिक जनजीवनका कारण हुने रोग रोकथाम र रोग लागिसकेपछिको उपचारको ब्यवस्थालाई नगरपालिकाले ध्यान दिने बताउनु भयो । प्रशिक्षक विमल पौड्यालले नेपालमा दैनिक १ सय २५ ब्यक्ति दृष्टिविहिन हुने गरेको बताउँदै दृष्टिविहिन हुन नदिन आमाको गर्भ देखि नै ख्याल पु¥याउनुपर्ने बताउनु भयो । 
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, अस्पतालका सचिव हिरामणी शर्मा, सह–सचिव धर्मभक्त प्रधान, कोषाध्यक्ष दिनेशराज कायश्थ, धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी लगायतले जिल्लालाई नै मोतियाविन्दु रहित बनाउने गरी कार्य गर्नुपर्ने बताउनु भयो । अस्पतालका सल्लाहकार अशोक श्रेष्ठले अस्पताल तथा विभिन्न संघ संस्थाको सहयोगमा आँखासँगै बालबालिकाहरुको मुटु स्वस्थ राख्न, रोग लागेमा उपचारमा सहजीकरण गर्न, अपाङ्ग बालबालिकाहरुको उपचारमा पहुँच नपुगेको अवस्थामा सहयोग गरिरहेको बताउनु भयो ।