2026 April 23/ 01:40: 00am

बनेपा/समृद्धिका लागि सामुदायिक वन, उत्पादन र उत्पादकत्व बृद्धीमा योगदान भन्ने नाराका साथ सामुदायिक वन राष्ट्रिय दिवसको अवसरमा मानव वन्यजन्तु द्वन्द्वका सवालमा बागमती प्रदेशको  उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, डिभिजन बन कार्यालय, सामुदायिक बन उपभोक्ता महासंघ बागमती प्रदेशले अन्र्तक्रिया गरेको छ । 
उद्योग पर्यटन वन तथा बातावरण मन्त्री अरुणकुमार नेपालले जनतालाई विश्वास गरिएका सबै कार्यहरु सफल भएकाले जनताको विश्वासमा हरेक कार्यहरु गरिनु पर्ने बताउनु भयो । जनतालाई बाहिर राखेर गरिएका सबै कार्यहरु असफल भएकाले वन क्षेत्र बढ्नु जनताको प्रत्यक्ष सहभागिता रहेको मन्त्री नेपालले बताउनु भयो । नेपाली जनताको जीवन परिवर्तन र आर्थिक समृद्धका लागि सामुदायिक वन उपभोक्ता समुहहरु सक्रिय भएकाले सामुदायिक बनहरुलाई आर्थिक बृद्धीका लागि उपार्जनका क्षेत्रमा सहभागि गराउँदै जानु पर्ने मन्त्री नेपालले बताउनु भयो । बागमती प्रदेश सरकारले १० लाख विरुवा प्रतिवर्ष उत्पादन गर्ने लक्ष्य लिएको बताउँदै मन्त्री नेपालले बृक्षारोपणलाई फलफुल तथा अन्य तत्काल उत्पादन दिने खालका उत्पादनसँग जोडिनु पर्ने बताउनु भयो । काठको मुल्य बृद्धी अस्वभाविक भएको बताउँदै मन्त्री नेपालले मुल्य बृद्धी अप्राकृतिक र अस्वभाविक भएकाले तत्काल काठको मुल्य घटाउने गरी कार्य गर्न सुझाव दिनु भयो । कार्यक्रममा डिभिजन बन कार्यालय काभ्रेका प्रमुख देविचन्द्र पोखरेलले डिभिजन बन मातहत गरिने कार्यका बारेमा जानकारी गराउनु भयो । वन संरक्षणसँगै तीन तहका सरकारसँगको समन्वय, नागरिकहरुलाई प्रत्यक्ष लाभ हुने खालका कार्यक्रम गर्नु पर्ने पोखरेलले बताउनु भयो । मन्त्रालयका अधिकृत नवराज पुडासैनीका अनुसार गरिवी न्यूनिकरण र उत्पादनमा सामुदायिक वनहरुको उल्लेख्य भूमिका छ । कार्यक्रममा जिल्लाका उत्कृष्ट सामु्दायिक र कबुलियती बनहरुलाई सम्मान गरिएको थियो भने विभिन्न जातका विरुवाहरुको बृक्षारोपण गरिएको छ । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ बागती प्रदेशका अध्यक्ष विनोद सापकोटाले बागतमी प्रदेश भित्र रहेका ४ हजार ५ सय १२ सामुदायिक वनलाई आय आर्जनमा जोड्नु पर्ने बताउनु भयो । 
कार्यक्रममा डिभिजन बन कार्यालयका सहायक वन अधिकृत गौरव भट्टले संचालन गर्नु भएको कार्यक्रममा प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, नगर प्रमुखहरु अशोक ब्याञ्जु, लक्ष्मीनरसिं बादे, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।