2026 April 23/ 01:40: 01am

बनेपा/बनेपा नगरपालिका वडा नम्वर ७ स्थित गोदामचोक नजिकैको एकता मार्गमा एकता टोल सुधार समितिले बनेपा नगरपालिका, वडा कार्यालय र स्थानीयहरुको सहभागितामा ३ सय ७२ मिटर सडक कालोपत्रे गरेको छ भने खानेपानीका लागि आवश्यक संरचना तयार गरेको छ । यस अघि ढल सहितको संरचना तयार गरी पक्कि सडकका लागि पूर्वाधार तयार गरेको थियो । 
कालोपत्रे सडकको बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे, उपप्रमुख रेखा सापकोटा दाहाल, वडा अध्यक्ष वर्ण शाक्यले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा नगर प्रमुख लक्ष्मीनरसिं बादेले तीन तहका सरकारहरु बीचको समन्वयले स्थानीय सरकारले ठुला ठुला आयोजना संचालन गरिरहेको बताउनु भयो । बनेपा नगरपालिका क्षेत्र भित्रका सडकहरुको स्तरोन्नती, नयाँ ट्रयाक निर्माणसँगै अन्य पूर्वाधारहरुमा नगरपालिकाले स्थानीय समुदायसँग समन्वय र साझेदारी गरिरहेको नगर प्रमुख बादेले बताउनु भयो । एकता भएमा एकता मार्गको जस्तै विकास सम्भव भएकाले सबै क्षेत्रका नागरिकहरुको विकासमा एकता आवश्यक भएको नगर प्रमुख बादेले बताउनु भयो । एकता मार्गमा नगरपालिकाले विनियोजन गरेको २३ लाख मध्ये उपभोक्ताले २२ लाख ३७ हजार प्राप्त गरेका थिए । स्थानीयहरुले ७ लाख ७० हजार रुपैया संकलन गरी ३० लाख ७० हजार रुपैयाको कालोपत्रे सम्भव भएको अध्यक्ष लक्ष्मण कर्माचार्यले बताउनु भयो । स्थानीयहरुको सक्रियता जहाँ धेरै रह्यो त्यहाँ विकासले गति लिएको नगर प्रमुख बादेले बताउनु भयो । 
कार्यक्रममा उपप्रमुख रेखा सापकोटा दाहालले नगरपालिकाले गत आर्थिक वर्षमा १० वटा सडक कालोपत्रे गरिएकोमा एकता मार्गको सडक पहिलो नमुना बनेको बताउनु भयो । तीन वर्षको बीचमा नगरपालिकाबाट नागरिकहरुको सेवाका लागि सडक, खानेपानी, सुरक्षा लगायतका अन्य पूर्वाधारसँगै एकल महिला, अपाङ्गता भएका ब्यक्ति, अभिभावक गुमाएका बालबालिकाहरुका लागि पनि नगरपालिकाले विभिन्न कोष निर्माण गरी सहयोग पु¥याईरहेको बताउनु भयो ।महिला हिंसा निवारण कोष मार्फत संकटमा परेका महिलाहरुलाई सहयोग पु¥याईरहेको नगर उपप्रमुख रेखा सापकोटा दाहालले बताउनु भयो । किशोरकिशोरीहरुलाई तालिम, बालबालिकाहरुका लागि बाल क्लव गठनसँगै सामाग्री वितरण गर्ने भएको उहाँले बताउनु भयो । 
कार्यक्रममा वडा अध्यक्ष वर्ण शाक्यले कार्यकाल भित्र वडाका सबै क्षेत्रलाई कालोपत्रे बनाउने अभियान जारी राखिएको बताउनु भयो । वडा नम्वर ७ भित्र तीन वर्षमा ३ किलामिटर सडक कालोपत्रे गरिएको छ भने पुण्यमाता करिडोरमा नयाँ ट्रयाक खोलिएको छ । सडक बत्ति, फोहोर ब्यवस्थापनसँगै सुन्दर शहर निर्माणका लागि वडा मार्फत कार्य भईरहेको शाक्यले बताउनु भयो । उपभोक्ता समिति अध्यक्ष लक्ष्मण कर्माचार्यले एकता टोल सुधारका लागि स्थानीयहरुको सक्रिय सहभागिता र समन्वय रहेको बताउनु भयो । 
नगरपालिकाले उपलब्ध गराएको बजेटको अधिकतम सदुपयोग गरी नागरिकहरुलाई विकास प्रति उत्तरदायित्व बहन गराईएको उहाँले बताउनु भयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती, नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु, स्थानीयहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा अनुगमन समितिका संयोजक महेश कर्माचार्यले नगरपालिकाले विकास निर्माणलाई प्राथमिकतामा राखेर अगाडी बढिरहेकोमा धन्यवाद दिएका थिए ।