धुलिखेल/धुलिखेल नगरपालिकाले सबै वडामा पार्क निर्माण गर्न थाले पछि स्थानीयहरुको समन्वय र सहकार्य तिब्र भएको छ । पार्क प्रति नागरिकहरुको चासो र सहकार्य बढ्दै गए पछि नगरपािलकाले लिएको लक्ष्य अनुसारका पार्क निर्माण समयमै हुने भएका छन् ।
धुलिखेल नगरपालिका वडा नम्वर ४ मा निर्माण शुरु भएको पार्कलाई स्थानीय स्तरबाट सहयोग जुट्न थालेको छ । डिभिजन वन कार्यालय र धुलिखेल नगरपालिकाबाट पार्क निर्माणका लागि १० लाख रुपैयाँ उपलब्ध भएको थियो । पार्कमा अझै संरचनाहरु थप्न थाले पछि रोटरी क्लब धुलिखेलको तर्फबाट नगद २ लाख रुपैयाँ प्राप्त भएको छ भने स्थानीयहरुले क्षमता अनुसारको सहयोग उपलब्ध गराउन थालेका छन् । पार्कमा बुद्ध र कृष्णको मूर्ति राख्ने गरी तयारी गरिएको छ । यसअघि वन कार्यालय र धुलिखेल नगरपालिकाको सहयोगमा उक्त पार्कलाई सेतिदेवी बालमैत्री पार्कको रुपमा विकास गर्ने तयारी गरिएको थियो । जिल्ला वन कार्यालय र धुलिखेल नगरपालिका बाट १० लाख रकम सहयोग भएकोमा पार्क निर्माण गर्न २५ लाख रुपैयाँ लाग्ने भएको छ ।
नगरपालिका र समुदायबाट आर्थिक संकलन गरी निर्माण कार्य भईरहेको पार्कमा रोटरी क्लब धुलिखेलबाट नगद २ लाख सहित फूल बिरुवा सहयोग भएको छ । उक्त सहयोगबाट अधुरो पार्क सम्पन्न हुने भएको छ । पार्कमा बच्चाहरु खेल्ने सामग्री, बस्ने ठाउँ, फूलबारी निर्माण भइसकेको छ भने पार्कको दायाँ र बायाँ शान्तिको अग्रदूत गौतम बुद्धको छ फिट अग्लो मूर्ति र कृष्णको मूर्ति राख्ने ठाउँ बन्दै गरेको छ । पार्क निर्माणमा विभिन्न क्षेत्रबाट प्राप्त सहयोगका कारण उर्जा थपिएको निर्माण समितिका अध्यक्ष सत्यमान लामाले बताउनु भयो । वडा अध्यक्ष रविन्द्र कर्माचार्यले पार्क निर्माणले नगरबासीहरुलाई थप सहजता प्रदान गरेको बताउनु भयो । स्थानीय समाजसेवी खाईवा लामाले पार्क निर्माणमा स्थानीयहरुको सहयोगसँगै शहरको सुन्दरता र सांस्कृतिक महत्वलाई प्राथमिकता दिएको बताउनु भयो । पार्कको शिलान्यास धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जुले गर्नुभएको थियो ।





